बसको ठक्करबाट टीकापुरमा साइकल यात्रीको मृत्यु, १ जना घाइते

टीकापुर, २८ साउन/कैलाली को टीकापुरमा बसले साइकल र मोटरसाइकललाइ ठक्कर दिँदा १ जनाको मृत्युु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा साइकल यात्री टीकापुर–६ मिलनपुरका ४५ वर्षिय अटवारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
मंगलबार बिहान साढे ८ बजेतिर भएको दुर्घटनामा घाइते भएका चौधरीको टीकापुर अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ ।
घाइते मोटरसाइकल चालक टीकापुर–६ लक्षिणापुरका २७ वर्षिय राजु चौधरीलाई टीकापुर अस्पतालमा उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले बताएको छ ।
बस र चालक गोदावरी नगरपालिका वडा नम्बर ८ का हरिकेशी लम्साललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले जानकारी दिनुभयो ।
मंगलबार बिहान साढे ८ बजेतिर टीकापुरको मुख्य सडकमा राष्ट्रिय बाणिज्य बैंक अगाडि सु.प.प्र.०१–००१–ख. ३५८३ नम्बरको बसले साइकल र सु.प.प्र.०१–०१२–प. १८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मृतक तथा घाइतेको तर्फबाट जाहेरी आइसकेको, बस र चालक ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा नै रहेकाले अनुसन्धान गरी नियमानुसार कारवाही गरिने प्रहरी नायव  उपरीक्षक बुढाथोकीले बताउनु भयो ।