बिद्यार्थीका नाममा अराजकता

सम्पादकीय

बिश्वबिद्यालयमा बिद्यार्थी राजनीति बढी हुँदा बिद्यार्थी संख्या घट्दै गएको छ । बिश्व बिद्यालयमा देखिएका बिकृती रोक्न बिद्यार्थी नेतृत्वले इमान्दारिताका साथ लाग्नुपर्ने हो । बिद्यार्थी संगठनका नाममा नेतृत्व लिने र बिश्वबिद्यालय र क्याम्पस प्रशासनसंग मिलेर सुबिधा र अवसर खान मोलमोलाईमा बिद्यार्थी संगठनले समय बिताउँदा पढ्न चाहने बिद्यार्थीले आन्दोलन प्रति बिश्वास गर्न छाडेका छन् । पढ्नु भन्दा बढी राजनीति हुन थालेपछि पढ्न चाहनेहरु बिद्यार्थीकै आन्दोलनमा सहभागि हुने कुरा त परैको कुरा हो घृणा गर्ने गरेका छन् । यसरी पछिल्लो समय बिद्यार्थी संगठनले फाट्टफुट्ट आन्दोलन गर्ने गरेका छन् । माउ पार्टीको गोटी बनेर बिद्यार्थी संगठनले भ्रष्टाचारको बिरोध गर्न सक्दैनन् तर महगिंका बारेमा देखवाटी आन्दोलनका कार्यक्रम गर्ने गरेका छन् । गठबन्धनको सरकार बन्न थालेपछि त बिद्यार्थीका संगठन चुपचाप छन् । आफ्नो नेतृत्वले गरेको भ्रष्टाचारका बारेमा बोल्ने कुरा भएन अर्काको बिरोध गर्दा जनताले पत्याउने कुरै भएन । मंगलबार पूर्बाञ्चल बिश्वबिद्यालयमा नेपाल बिद्यार्थी संघका बिद्यार्थीले पूर्बाञ्चल बिश्वबिद्यालयका सेवा आयोगका अध्यक्ष महेश दहाल माथि कालोमसी छ्याप्ने काम गरेका छन् । यो काम जसले गरेपनि गलत हो । पुरानै शैलीले अब काम चल्दैन । आतंक देखाएर आफ्नो काम गराउने शैली पुरानो हो । केही गलत भएको छ भने हरेक बिद्यार्थीले थाहा पाउने गरी जानकारी गराउनुपर्छ । कानूनी बाटो खोज्नुपर्छ । कानूनी बाटोले उपचार पाएन या न्याय नहुने भएपछि बल प्रयोग अन्तिम उपाय हो । बिद्यार्थी नेताहरुले आफ्नो व्यबहार सुधार्नु नपर्ने अनी बिश्वबिद्यालय र क्याम्पसमा आतंक देखाएर नेता बन्ने काम बन्द गर्नुपर्छ । यस्तो आतंक सृजना गर्नेहरुलाई कानूनी दायरामा ल्याउन जरुरी छ । आतंकको राजनीतिले कतिञ्जेल पेट पाल्ने ? तसर्थ हरेक बिद्यार्थी सचेत हुन जरुरी छ । बिद्यार्थी नेतृत्वको आडमा जे गरेपनि हुन्छ भन्ने मानसिकतालाई रोक्न सबैले भूमिका खेल्न जरुरी छ ।