टीकापुर, १० असार/काम गर्ने किसान सबैले अनुदान या सहयोग पाएका छैनन् । धेरैको गुनासो पनि छ । राज्यले अनुदान वास्तविक किसानलाई दिएन भनेर ठूलो आक्रोस छ । सांसद चन्द्र भण्डारी जस्ताले अनुदान दुरुपयोगको मुद्धा सदनमा उठाउनुभयो । पछिल्लो समय केही टाठाबाठाले अनुदान हड्प्न सफल भएन । तर सबै अनुदान दुरुपयोग भएको छैन , अनुदानले मेहनत गर्ने किसानलाई ठूलो सहयोग भएको छ भनेर रानी जमरा सिचाई आयोजनाको कृषि शाखाले देखाएको छ । मेहनत गर्ने किसानले ढिलो चाडो सहयोग पाउछन् भन्ने सन्देश आयोजनाले दिएको छ ।
यस्तैमा किसान दुर्गा प्रशाद जैशी ले कठोर मेहनत गरेको पाइन्छ । उहाँले पुरै परिवार पशुपालनमा लगाउनुभएको छ । भैसीपालनमा परिवार नै होमिएका टीकापुरका दुर्गाप्रसाद जैसी रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइको सहयोग पाउँनुभएको छ । २०७४ सालदेखि टीकापुरमा व्यवसायिक किसानका रुपमा काम गरिरहनुभएका दुर्गा प्रसादलाई समय समयमा आयोजना ले दिने अनुदान र सहयोगले पेशामा राम्रो गर्न प्रोत्साहन गरेको छ । सहयोग सदुपयोग मात्र भएको छैन , पशुपालन मा अरुलाई पनि हौसला दिने गरी सन्देश दिनुभएको छ । उहाँको लगनशिलताबाट पछिल्लो समय अरुले पनि भैसीपालन गर्न थालेका छन् ।
२०७० सालमा भजनीमा महुन्याल भैसी फर्म सञ्चालन गर्नुभएका दुर्गाप्रसाद २०७४ साउन देखि टीकापुरमा व्यवसाय गरिरहनु भएको छ । छाडा पशुले बालीनाली सखाप पार्न थालेपछि टीकापुर सरेका जैसीले जमीन भाडामा लिएर भैसीपालन गरिरहनु भएको छ ।
परिवार नै भैसीपालनमा लागेका जैसीका ४५ भैसी र पाडापाडी छन् । हाल जैसीले दैनिक ७० लिटर दुध बिक्री गरिरहनु भएको छ ।
जैसीले आयोजनाबाट गोठ सुधार, बस्तुभाउको अन्न भण्डार घर, घास काट्ने मेशिन, बोरिङ मोटर, पावर टिलर लगायतका प्रविधि सहयोग पाउनुभएको छ । यसका साथै नश्ल सुधारका लागि रागो समेत पाउनुभएको छ । घाँसको बीउ, पोषण, मिनरल ब्लक लगायतका सामग्री सहयोग पाएर उहाँ पेशामा टिकिरहनु भएको छ ।
उन्नत नश्लका लागि मुर्रा रागो भए पनि भैसी नभएकाले भैसी पाउन सकेको भए दुध उत्पादनमा वृद्धि हुने उहाँ बताउनुहुन्छ । दुध बिक्रीका लागि दुर्गाप्रसाद जस्ता पशुपालकलाई खासै समस्या छैन । आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भरत कँडेल पारिवारीक व्यवसायका रुपमा दुर्गाप्रसादको व्यवसाय उत्कृष्ट रहेको, कम दुध उत्पादन हुने समयमा पनि राम्रो दुध र मूल्य पाइरहनु भएको असल किसानका रुपमा आयोजनाले लिएको र सहयोग गरिरहेको बताउनुभयो ।
आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारती आयोजनाले पहिलो चरणमा पशुपालनका कार्यक्रम नगरेको, दोस्रो चरणमा पशुपालनमा केही सहयोग गरेको बताउनुभयो । पशुपालन तर्फ किसानलाई व्यवसायिक बनाउन ब्यवसायिक फर्म सञ्चालन गरेका किसानलाई गोठ सुधार, मर्मत, प्रविधि सहयोगमा सघाएको र त्यसले किसानलाई सहयोग मिलेको बताउनुभयो ।
आयोजनाले बीउबिजन, प्रविधिमा अनुदान तथा सहयोग गरेका किसान लाई पेशालाई व्यवसायिक बनाउन सहयोग मिलेको छ ।
सिचाई आयोजना आएपछि यस क्षेत्रका किसानले ठूलो सहयोग पाएको रानी जमरा कुलरीया मूल समितिका सचिब परशुराम महतौंले बताउनुभयो ।
उहाँले अनुदान लिएर दुरुपयोग गर्नेहरु पनि छन् तर जसले अनुदान सदुपयोग गरेको छ उसको आर्थिक उन्नती भएको छ भन्नुभयो । यस क्षेत्रका किसानको आम्दानी बढाउन मा सिचाइ आयोजनाले भूमिका खेलेको छ भने विकासका सवालमा पनि महत्वपूर्ण भूमिका भएको उहाँको भनाई छ ।