टीकापुर, ३० कार्तिक/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री डाक्टर रणबहादुर रावलले टीकापुरस्थित कैलाशेश्वर शिव मन्दिर निर्माणमा सबैले कर्तव्य ठानेर सहयोग गर्न जरुरी छ भन्नुभयो ।
डाक्टर रावलले बिहिवार कैलाशेश्वर मन्दिर परिषरमा निर्माण हुन लागेको मन्दिरको शिलान्यास गर्दै यस्तो कुरा बताउनु भएको हो ।
‘‘मन्दिर परिषरभित्र दश ठाउँमा मन्दिर बन्नुभन्दा एउटा भव्य मन्दिर निर्माण हुुनुपर्छ’’, डाक्टर रावलले भन्नुभयो, ‘‘मन्दिरको गुरुयोजना अनुसार निर्माण अघि बढ्नुपर्छ ।’’
नयाँ मन्दिरको सुरुवात भएको छ भन्दै उहाँले व्यक्ति व्यक्तिका साथै सरकारले पनि सहयोग गर्नुपर्छ भन्नुभयो । स्रोत साधन नभए पनि वर्तमान कार्य समितिले दुख गरेर मन्दिरको संरक्षण गरिरहेको बताउनुभयो ।
पूर्व मेयर तपेन्द्रबहादुर रावलले टीकापुरमा मन्दिर धेरै भएपनि ५ वटा मन्दिरमा मात्र नित्य पूजा हुने गरेको बताउनुभयो । नयाँ बन्ने मन्दिर शिखर शैलीको हुने भन्दै रावलले वर्तमान नेतृत्वले पनि मन्दिर निर्माणमा सहयोग गर्ने विश्वास छ भन्नुभयो ।
‘‘मन्दिर व्यवस्थापन समिति नयाँ बनाउनुपर्छ भने पनि त्यतिबेला विभिन्न समस्या थिए’’, पूर्व मेयर रावलले भन्नुभयो,‘‘वर्तमान अध्यक्ष नारायण तिमिल्सेनालाई नेतृत्व लिन आग्रह गरे, वर्तमान नेतृत्वले इमान्दारिता र समर्णपण देखाएको छ ।’’
पूर्व वडाध्यक्ष गंगाराम आचार्यले जात र क्षेत्रका मन्दिर निर्माण भए तर शिव मन्दिर निर्माण चुक्यौँ भन्नुभयो । ‘‘यो मन्दिर टीकापुरको मेरुदण्ड हो’’, आचार्यले भन्नुभयो, ‘‘वर्तमान कार्यसमितिले दाउरा, चामल गरेको रकम समेत देखाएको छ ।’’ मन्दिर व्यबस्थापन समितिका अध्यक्ष नारायण तिमिलसेनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तारा अधिकारीले गर्नुभएको थियो भने सञ्चालन चक्रपाणी भट्टराईले गर्नुभएको थियो । बिहिवार शिलान्यास गरिएको मन्दिर शिखर शैलीको हुनेछ भने मन्दिर निर्माणमा करिब तीन करोड रुपैया लाग्ने अनुमान गरिएको छ । मन्दिरको गुरुयोजना अनुसार १९ करोड रुपैया खर्च हुने लागत अनुमान गरिएको छ । मन्दिर व्यबस्थापन समितिले शुरुवाति चरणमा ५५ लाख बराबरको निर्माणको काम गर्ने अध्यक्ष तिमिल्सेनाले बताउनुभयो ।