महिलाले चलाएको सहकारीको तोरीको तेल उद्योग

दुर्गा देवकोटा

टीकापुर १६ मङ्सिर/कैलाली को टीकापुरमा महिलाले सञ्चालन गरेको सहकारीले तेल उद्योग सञ्चालन गरेको छ । महिला जागरण बहुउदेश्यीय सहकारी संस्था टीकापुरले २ वर्षदेखि सञ्चालन गरेको मिलले शुद्ध तोरीको तेल उपलब्ध गराउने गरेको छ । सहकारीले एक जना कामदार राखेर शुद्ध तेल उत्पादन गरिरहेको छ । सहकारी आफैले तोरी खरिद गरेर तेल उत्पादन र बिक्री गर्ने गरेको छ ।
सरकारले एक उद्योग एक सहकारीको नीति लिएको छ । सहकारी उद्यमसँग जोडिनुपर्छ भनेर लागिरहँदा महिला जागरणले शुद्ध तोरी उत्पादन थालेको सहकारीका अध्यक्ष शोभा शर्मा ज्ञवालीले जानकारी दिनुभयो । ‘‘महिलाहरु धेरै भान्सा सम्हाल्छौँ, भान्सामा शुद्ध खानेकुरा भएमा परिवारकै स्वास्थ्य राम्रो हुन्छ’’, अध्यक्ष शर्मा भन्नुहुन्छ, ‘‘हामीले स्वास्थ्यमा पनि लाभ हुने, उत्पादन खपत पनि सहजै हुने भएकाले तेल उत्पादनका लागि मील सञ्चालन गर्ने निर्णय गरेर मील सञ्चालन गरका हौँ ।’’
सहकारीका उपाध्यक्ष राधा रावलले शुद्ध तेल, चामल र पिठो उपलब्ध गराउने उद्देश्यअनुसार पहिलो चरणमा तोरीको तेल उत्पादन थालिएको बताउनु भयो । सहकारीलाई मील सञ्चालनका लागि विभिन्न क्षेत्रबाट सहयोग तथा अनुदान मिलेको छ । टीकापुर नगरपालिकाले मिल स्थापना गर्दा रु। ५ लाख अनुदान दिएको थियो भने यस वर्ष पनि फिल्टर जडानका लागि रु। ५ लाख बजेट छुट्याएको छ । सहकारीका पदाधिकारीले अन्य जिल्लाका सहकारीले सञ्चालन गरेका उद्योगको अनुगमन समेत गरेका छन् ।


गुणस्तरहीन तेल प्रयोग गर्दा स्वास्थ्यमा गम्भिर असर पार्न सक्ने भएकाले शुद्ध तोरीको तेल उपलब्ध गराउने गरेको र मील राम्रो सञ्चालन भइरहेको उपाध्यक्ष रावलको भनाइ छ । ‘‘हामीले उत्पादन गरेको तेल खपत राम्रो छ’’, उपाध्यक्ष रावलले भन्नुभयो, ‘‘हामीले तोरीको सिजनमै तोरी किनेर भण्डारण गर्ने गरेका छौँ, तोरी धोएर शुद्ध तेल उत्पादन हुन्छ । अहिले उत्पादित तेल टीकापुर बजारमै खपत भइरहेको छ ।’’
सहकारीले उद्योगलाई थप विस्तार गर्ने योजना बनाएको छ । ‘‘सहकारीले यस वर्ष सयौँ कुण्टल तोरी खरिद गरेर राखेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘सहकारीबाटै बिक्री भइरहेको छ । सहकारीले चालु आर्थिक वर्षको अहिलेसम्म ४ सय ३७ लिटर तेल बिक्री गरेको छ ।’’
आफैले पेलेर तयार पारिएको तेल प्रतिलिटर रु। ३७५ मा बिक्री गर्ने गरिएको छ । सहकारीका व्यवस्थापक बालकुमारी चौधरी यस वर्ष तेल फिल्टर मेशिन जडान हुने र त्यसपछि यहाँ उत्पादन भएको तेल अन्य जिल्ला मा पनि बिक्री गरिने बताउनु हुन्छ । ‘‘फिल्टर जडानपछि हामी प्याकिङ गरेर तेल बजारमा पठाउनेछौँ, धेरै जिल्लाबाट तेलको माग आएको छ’’, उहाँले भन्नुभयो, ‘‘फिल्टर जडानपछि माग भएका जिल्लाहरुमा पठाउने योजना छ ।’’
सरकारले एक सहकारी एक उद्योगको नीति लिएको छ । टीकापुर क्षेत्रमा ७७ सहकारी छन् जसमा २० सहकारी निस्क्रीय छन् । सक्रीय रहेका सहकारीले पनि उद्योग सञ्चालन गर्ने निकै कम छन् । यस्तोमा महिला जागरण सहकारी ले उद्योगमार्फत असल अभ्यास थालेको टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीको भनाइ छ । ‘‘हरेक सहकारीले केही न केही उद्योग स्थापना गरोस् भन्ने हो तर निकै कम सहकारी उद्योगसँग जोडिएका छन्’’, केसी भन्नुहुन्छ, ‘‘महिलाले सञ्चालन गरेको सहकारीले उद्योग सञ्चालन गर्नु लाई स्थानीय सरकारले उपलब्धी मानेको छ । हामीले उहाँहरुलाई सक्दो सहयोग गरेका छौँ । आगामी दिनमा पनि सहयोग रहनेछ ।’’
सहकारीमा एक हजार बढी महिला शेयर सदस्य छन् । सहकारीले गरेका कार्यले समाज लाई पनि आर्थिक गतिविधिमा जोड्न आवश्यक रहेको स्थानीय निर्मला कडायतको सुझाव छ ।
‘‘तेल उद्योग थप विस्तार गर्नुपर्छ, सहकारीले महिलालाई रोजगारी दिने खालका थप उद्योग सञ्चालनमा ध्यान दिनुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘महिलालाई रोजगारीसँग जोड्न सकियो भने महिला सशक्त हुन्छन् । महिला बलिया भएमा हिंसाका घटनामा कमी आउँछ ।’’