सम्पादकीय
केही बर्ष अघिसम्म महिलाले दुरुपयोग गर्दैनन् भन्ने मान्यता थियो । यही मान्यताका कारण संघ संस्थामा महिलालाई कोषको जिम्मेवारी दिने गरिएको थियो । समाजमा महिलालाई हेर्ने दृष्टिकोण अलग्गै थियो । महिलाले कोषको जिम्मा पाएपछि पैसा सुरक्षित हुन्छ भन्ने आम मानसिकता थियो । पछिल्लो समय महिला पनि भ्रष्ट हुन थालेको गुनासो आउन थालेको छ । पुरुषसंग मिलेर बजेट हिनामिना गर्ने गरेका छन् । पुरुषले जस्तै महिलाले पनि रकम दुरुपयोग गर्न थालेका छन् ।सरकारी कार्यालयमा पनि पुरुष जस्तै महिला भ्रष्ट देखिन्छन् । आर्थिक मामिलामा महिलाले पैसा मोह देखाएको देख्दा महिलाले अवसर पाए पुरुष भन्दा खतरनाक हुन्छन् । पैसाको लोभ सबैलाई हुन्छ तर पैसाका लागि जे पनि गर्न तयार हुने स्वभाव कसरी विकास भयो भन्ने हो । पैसाका लागि जे पनि गर्न तयार हुन थालेपछि सरकारी कार्यालयमा होस् या संघ संस्थामा समस्या हुने गरेको छ । संघ संस्थामा त झनै वेथिती देख्न पाइन्छ । महिलाले दुरुपयोग गर्दैनन् भन्ने सोच ठीक उल्टो हुँदै जाँदा महिलाको सम्मान घट्दै गएको छ । आर्थिक रुपमा पारदर्शी हुन्छन् भन्ने बेला महिलालाई कोषको जिम्मा दिनुपर्छ भन्ने समाज अहिले महिला पनि भ्रष्ट हुन थाले भनेर भन्न थालिएको छ । समाजमा भ्रष्टाचार बढ्दै गएको छ । सुशाषनको पाटो कमजोर भएको वर्तमान अवस्थामा महिला पनि चोखो हुने कुरै भएन । पुरुषको आडमा महिला पनि आर्थिक अपचलनमा लागेका छन् । तसर्थ आर्थिक सवालमा महिला सचेत हुन जरुरी छ । महिलाले पाइरहेको सम्मान गुम्नु महिलाका लागि नोक्सान हो । सम्मान नै मानवको सम्पत्ति हो । यसमा गम्भिर हुन जरुरी छ ।