सम्पादकीय
आफुलाई चित्त नबुझेको कुरा भन्न काठमाण्डौको माइतिीघर प्रयोग गर्ने गरिएको छ । यो बर्षाै देखिको निरन्तरता हो । सरकारको ध्यानाकर्षण गर्न नागरिकले त्यो ठाउँमा प्रदर्शन गर्ने गरेका छन् । त्यहा प्रदर्शन गरेपछि राज्यको मात्र होइन देशभरी सन्देश पुग्छ । ठूला ठूला घटना त्यही माइतीघरबाट भएका छन् । माइतीघर प्रजातन्त्र बचाउने स्थलका रुपमा मात्र होइन राज्य निरकुंश हुँदा जनतालाई एकजुट गराएर आन्दोलन गर्ने ठाउँ पनि हो । माइतीघरले पटक पटक सन्देश दिएको छ । अहिले यो ठाउँमा दिनहुँजसो कार्यक्रम र प्रदर्शन हुने गरेका छन् । यहाँ उठ्ने आवाजलाई सम्बोधन गर्नको साटो कतिपय अवस्थामा दमन गर्ने गरिएको छ । नागरिकलाई सडकमा आउन बाध्य नबनाएको भए गणतन्त्र बलियो हुने थियो । भ्रष्टाचारका बिरुद्ध पटक पटक आन्दोलन हुने गरेका छन् तर सत्तामा बसेका नेताहरुले त्यो आन्दोलनलाई सामान्य रुपमा लिने गरेका छन् । यो एउटा निरकुंशता बिरुद्ध लडेका नेताहरु आफै निरकुंश व्यबहार प्रदर्शन गर्न थालेका छन् । शिर्ष तहमा रहेका नेताहरुले कार्यकर्ताको भावना बुझ्ने प्रयास गर्नुभन्दा दबाएर आफुप्रति आकर्षित गर्ने प्रयासमा लागेको पाइन्छ । पार्टीको कार्यकर्ताले बिचारले पार्टीमा जोडिएको हुन्छ भन्ने कुरा नेताहरुले बिर्सेको अवस्था छ । सबै लोभिपापीको हुन्छन् भनेर नेतृत्वले सबैलाई लोभ देखाएर समस्या समाधान गर्ने गरेका छन् । एउटा इमान्दार नेता र कार्यकर्ताको भावना नबुझ्नेहरुले आम नागरिकको भावना बुझ्ने प्रयास गर्ने कुरै भएन । नागरिकलाई तर्साएर साशन गर्ने सोचमा सत्तामा बसेकाहरु लागेका छन् । देश र जनतालाई लुटेर आफ्नो स्वार्थमा नेताहरु लिप्त भएपछि नागरिक सामाजिक सञ्जालमा बेदना पोखेर चित्त बुझाउन बाध्य भएका छन् । नेपालमा नागरिकलाई तर्साएर सत्तामा बस्ने सोच बलियो हुँदै गएको छ । हरेक पार्टीमा राम्रा नेता तथा कार्यकर्ताको गला रेट्ने काम भइरहेको छ । नागरिकले देशको बारेमा चिन्ता गर्न जरुरी छ । चिन्ता गर्ने र निगरानी गर्ने हो भने भ्रष्ट नेताहरु पाखा लाग्छन् ।