मिडियाले नागरिकका आवाज बोल्नुपर्ने सरोकारवालाको सुझाव

टीकापुर, २४ बैशाख/मिडिया ले नागरिकका आवाज बोल्नु पर्छ । नागरिकका आवाज बोल्ने मिडियासँग नागरिकका अपेक्षा पनि धेरै हुन्छन् । नागरिकहरु मिडियाले सकारात्मक सँगै समाजमा भइरहेका नकारात्मक क्रियाकलापको उजागर गरोस्, गलत कार्यलाई निरुत्साहित गरोस् भन्ने चाहन्छन् ।
नागरिकका अनुसार पछिल्लो समय मिडियामा समेत विकृति देखिएको छ । जसले मिडियाको विश्वसनियतामा प्रश्न उठाएको छ । सरकार, सत्ता र संघसंस्थामा बसेकाहरुले गरेका गलत काम बाहिर ल्याउने काम मिडियाले गर्नुपर्ने हुन्छ । यसका साथै राम्रा काममा हौसला मिल्ने काम पनि मिडियाबाट हुन्छ ।
टीकापुर बहुमुखी क्याम्पसका सह–प्राध्यापक मीनबहादुर शाही समाजमा पछि परेका पारिएका मुद्दा उठाउनुपर्ने, खोज पत्रकारिता गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
नेपाली काँग्रेसका महासमिति सदस्य नवराज रावललाई आवाज विहीनको आवाज उठाउन कतिपय मिडिया चुकेकाले समाज का लागि राम्रो नभएको बताउनु हुन्छ ।
उहाँ भ्रष्टाचार न्यूनिकरण, राम्रो काम गर्नेलाई हौसला र नराम्रो गर्नेलाई निरुत्साहित गर्नका लागि मिडियाले वकालत गर्नुपर्ने उहाँको जोड छ ।
शिक्षक धनबहादुर विक टीकापुर लागू औषध दुव्र्यसनको शिकार बन्दै गएकाले यसलाई न्यूनिकरण गर्ने खालको उत्पादन मिडियाबाट आउनु पर्ने बताउनुभयो ।
नेपाल आर्य समाज केन्द्रीय सभाका उपाध्यक्ष टिकाराम आर्य समाजलाई जगाउने, विकृति विसंगति हटाउने कार्य सञ्चारमाध्यमबाट हुनुपर्ने बताउनुहुन्छ ।
सहकारीकर्मी दीपकराज ढुंगानाका अनुसार एउटा मिडियाले उठान गरेको मुद्दा अन्य मिडियाले पनि पछ्याइरहेको अवस्था छ । उहाँ मिडिायाले राजनीतिक समाचारलाई मात्र प्राथमिकता दिएको आर्थिक समृद्धि, उद्यमशितला विकासका सवालमा आवाज उठाउन नसकेको बताउनुहुन्छ ।
ब्यापारी शिवदत्त उप्रेति टीकापुर बजार सुनसान हुँदै गएकाले यस्ता खाले विषय उठान गर्न आवश्यक रहेको बताउनुहुन्छ । नागरिकका अपेक्षा मिडिया नागरिकमैत्री बनुन भन्ने हो । मिडियाकर्मीले नागरिकका गुनासा सम्बोधन गर्ने गरी मिडियामा दिने उत्पादनमा नागरिकका आवाज बोल्नुपर्नेमा ध्यान दिनुपर्छ ।