मिलिजुली खान तयार

सम्पादकीय
नेपालमा सत्तामा बस्नका लागि मिल्ने र सत्ता भन्दा बाहिर बसेपछि चिल्ने प्रचलन बढ्दै गएको छ । ठूला दल सत्ता बाहिर छन् तेस्रो शक्ती माओवादीलाई सत्ताको नेतृत्व दिएर एमालेलाई प्रतिपक्ष बनाएका छन् । प्रजातन्त्रका लागि प्रतिपक्ष बलियो हुन जरुरी छ । कांग्रेस र माओवादी लगायतका दल सत्तामा बसेका छन् तर जनताको गुनासो सुन्न चासो दिएका छैनन् । सत्तापक्षको व्यबहारबाट नागरिक खुसी छैनन् । उता प्रतिपक्ष बसेको एमाले पनि छट्पटीमा छ । जनजीविकाको सवाललाई मुद्धा बनाएर सत्ता पक्षलाई घेर्नुको साटो दुखि मानसिकता बनाएर सत्ता पक्षमा जाने सोच पालेको देखिन्छ । सबै मिलेर सत्ता चलाऔं भन्ने आवाज उठ्न थालेको छ । यसको अर्थ मिलेर खाऔं भन्ने त
हो । सत्ता पाएपछि नेपालका राजनीतिक दलले पुरा कार्यकाल चलाउन सक्ने अवस्था देखिएन । अघिल्लो पटक कम्युनिष्टहरु को लगभग दुई तिहाई मतको सरकार थियो । तर पुरा चलेन । अहिलेको गठबन्धन सरकारले पनि नागरिकको मन जित्न सकेन । बालूवाटार जग्गा काण्ड , सुन काण्ड , भूटानी सरणार्थी काण्ड जस्ता बिषयमा सत्ता पक्षले केही गर्न सकेन भने प्रतिपक्षले पनि यस्ता गम्भिर मुद्धामा सत्तापक्षलाई घुँडा टेकाउन सकेन । ठूला भ्रष्टाचारका फाइल खोल्ने हो भने शिर्ष नेताहरु नै जेलमा हुने अवस्था छ । नागरिकमा चरम असन्तुष्टि बढ्दै गएको छ । विकास बजेटका लागि पैसा छैन । ऋण लिएर प्रशासन चलाउन अनी कर्मचारीलाई तलव खुवाउने हो भने देश कतिञ्जेल चल्छ रु देशको अवस्था गम्भिर मोडमा छ तर नेताहरु सब ठिकठाक छ भनेर जनतालाई ठगिरहेका छन् । गणतन्त्र बलियो बनाउन राजनीतिक दलका नेताहरुले गम्भिर भएर सोच्न जरुरी छ ।