मौरनीयामा पनि धान तौल हुने

टीकापुर,११ पुस/टीकापुर स्थित खाद्य डिपोले टीकापुर ४ मौरनीयाबाट पनि धान खरिद गर्ने भएको छ ।
टीकापुरको गोदाम, सत्ती र अस्नेहरीबाट धान खरिद गर्दै आएको डिपोले सोमवारबाट मौरनीयाबाट पनि किसानको धान खरिद गर्ने सहमति भएको हो । धान बिक्रिका लागि चार रात सत्तीमा कटाएका किसान लाई डिपोका कर्मचारीले अन्तिममा आएर धान खरिद नगरी भजनी या राजापुर लैजान भनेपछि किसानले मौरनीयामा आइतवार दिउँसो ढाई बजे देखि सडक जाम गरेका थिए ।

सडक जाम भएपछि धान बिक्रिका लागि आएका किसान स्थानीय राजनीतिक दल, जन प्रतिनीधि र डिपोका कर्मचारी बिच भएको छलफल पछि धान खरिद गर्ने सहमति भएको हो । टीकापुर ४ ,६ ,७ , ८ र ९ का सयौं किसान धान बिक्रिका लागि डिपोको काँटा कुर्दा पनि पालो नपाएर बसेका छन् । ‘‘सत्तीमा ४ दिन बसेर २५ जना किसान ले कुप्पन त पाए तर तौल भएन ,’’ वार्ड नम्बर ९ का किसान कनैया चौधरीले भन्नु भयो , ‘‘ मौरनीयामा काँटा लगाउने भनिए पनि अहिले आएर भजनी र राजापुर जान भनेपछि सडक अबरुद्ध गर्नुपर्यो ।’’ किसानको धान खरिद गर्ने बेला खाद्यले कुप्पन दिनेबेला नै ध्यान नदिएको उहाँको गुनासो छ ।

चिसोको समयमा धान बिक्रिका लागि काँटा कुर्दा किसान रातभरी बस्ने गरेका छन् । धान खरिद गर्ने सहमति भएपछि सडकमा अबरुद्ध पारिएका डलप र टेक्टर हटाइएको छ । ‘‘धान खरिद गर्न समस्या होइन गोदाम नभएका कारण मौरनीयामा काँटा नलाग्ने भनिएको हो, गोदामको व्यबस्था भए आज बाट कांटा लगाउँछौ ,’’ डिपो प्रमुख पुष्पराज बजगाईले भन्नुभयो,‘‘ केन्द्रको निर्देशन मान्ने हो,किसानलाई सहज होस् भनेर हामी दिनरात नभनी खटेका छौं ।’’ व्यापारीको धान नआवस यसमा किसान र नागरिक समाज पनि सचेत हुनुपर्ने भन्दै संस्थाका मुख्यालय बाट आउनु भएका कर्मचारी सुजन सापकोटाले त्यहाँ उपस्थित सबैसंग अनुरोध गर्नुभएको छ ।
उहाँले धनगढी लगायत टीकापुरमा ४० हजार कुण्टल खरिद गर्ने लक्ष्य भएपनि अहिलेसम्म १५ हजार कुण्टल खरिद भएको बताउँनुभयो । किसानले भने कुप्पन पाउँन देखि तौल गराउँदा सम्म दुःख पाएको गुनासो गरेका छन् । ‘‘तौल गर्नेहरुले पनि भकाभक काम गर्दैनन् , ४/५ रात बिताएर पालो आउँछ त्यसैमा पल्लेदार यताउता गरेर समय बिताउछन् ।’’ वडा नम्बर ७ का चिजबहादुर चौधरीले भन्नु भयो । उसो त खाद्यले भजनी र जोशीपुरमा पनि कांटा लगाएको छ । ‘‘बर्षेनी बाली खरिद गर्नेबेला किसानले दुःख बेहोर्नु परेको छ , नीतिमा नै समस्या छ ,’’ नेपाली कांग्रेसका पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भन्नुभयो ,‘‘ स्थानीय सरकार पनि गम्भिर देखिएन ।’’

उहाँले नगरपलिकाले आफ्नो क्षेत्रमा उत्पादन हुने बालीको तथ्यांण्क त राख्नु प¥यो नी भन्नुभयो । किसानका समस्याका बारेमा तीन तहका सरकार बेखबर भएको पाइन्छ । मौरनीयामा धान खरिद गर्नका लागि स्थानीय नारायण गोयलको गोदाम प्रयोग गरिने भएको छ । उक्त गोदामको क्षमता ९ हजार बोरा रहेको छ ।
छलफलमा वडा नम्बर ४ का वडाध्यक्ष लालबीर चौधरी, नेपाली कांग्रेसका पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी र नगरसभापति नरेश कुमार खत्री लगायत स्थानीय पत्रकारको उपस्थिती रहेको थियो ।