योगाश्रमको बारेमा ध्यान जाओस्

सम्पादकीय
टीकापुर नगरपालिकाका जनप्रतिनीधिले आफ्नो पालिकामा विकासका एजेण्डा बारे प्रष्ट नहुँदा भएका संघ संस्थाको अवस्था नाजुक हुँदै गएको छ । आफ्नो पालिकामा भएका संघ संस्थाले दिइरहेको सेवाका बारेमा मुल्यांकन गर्ने र राम्रा संस्थालाई थप बलियो बनाउँने नीति बनाएर काम गर्नुको साटो दबाबका भरमा बजेट दिने गरिएको छ । भनसुन र भोटको राजनीति मात्र गर्ने संस्कृतिले संस्था बलियो हुनसकिरहेका छैनन् । पारदर्शी नभएका संस्थालाई पारदर्शी बनाउँनु स्थानीय सरकारको काम हो । जनप्रतिनीधिहरु संघ संस्थामा आफ्ना मान्छेलाई प्रबेश गराउने र दोहन गर्ने सोचमा लागेका छन् । टीकापुरमा केही बर्ष देखि योग साधना गर्ने क्रम बढ्दो छ । योग साधनाले आम नागरिकलाई स्वस्थ बनाउँने सवालमा सहज बनाएको छ । योग साधनाले सारिरिक मात्र होइन मानसिक रुपमा पनि स्वस्थ बनाउन सहज हुन्छ । टीकापुरका बिभिन्न ब्लकमा योग साधना गरिने भएपनि यस क्षेत्रका नागरिकको पसिनाबाट स्थापना भएको योगाश्रमका बारेमा सबैले सोच्नुपर्ने हो । टीकापुरको योगाश्रम योग साधना केन्द्रका रुपमा विकास गरेर खोज गर्न सकिन्छ । योगका बारेमा बिबिध पक्ष खोज्ने केन्द्रका रुपमा योगाश्रमलाई बिस्तार गर्न सकिन्छ । नागरिकले तयार गरेको यति ठूलो संरचना यतिखेर खण्डहर बन्ने हो कि भन्ने चिन्ता छ । स्वास्थ्य क्षेत्रमा गरेको लगानीको असर बर्षाै पछि नतिजा आउँछ । स्वास्थ्य क्षेत्रमा लगानी बढाउन योगाश्रममा पनि लगानी गर्न जरुरी छ । टीकापुर नगरपालिकाका जनप्रतिनीधिहरु योगाश्रमका बारेमा बुझ्ने प्रयास गर्दैनन् । योग साधनामा गरेको लगानीले सिंगो समाजलाई लाभ पुग्छ भनेर नगरपालिकाले बजेट छुट्याउनुको साटो बजेट माग्दा भिख मागेको जस्तो गर्नु परेको छ । योग गुरु पृथ्बी रावल सहित टीकापुरका केही योग साधकले देखाएको व्यबहारबाट सबैले सिक्न जरुरी छ । राम्रो काम गर्नेलाई सम्मानजक व्यबहार गरेर स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन बजेट दिनुपर्छ भन्ने सोच कहिले आउला ? जनप्रतिनीधिले आफ्नो सोच पनि नबनाउने अनी अरुले दिएको सुझाव पनि नमान्ने हो भने नगरका अवस्था नाजुक हुन्छ । तसर्थ नगरबासीले पनि जनप्रतिनीधिलाई दबाब दिन जरुरी छ । काम नगर्ने जनप्रतिनीधिहरुलाई ठाउँको ठाउँ भन्न सक्नुपर्छ । त्यसैले योगाश्रमको बारेमा नगरपालिकाले बजेट छुट्याउन जरुरी छ ।