‘रत्न प्रशाद स्मृति भवन ’को उद्घाटन

टीकापुर १३, भाद्र/बीरेन्द्र बिद्या मन्दिरका पूर्ब प्रअ एबम टीकापुर नगरपालिकाका संस्थापक मेयर रत्न प्रशाद संज्यालको स्मृतिमा निर्माण गरिएको ‘रत्न प्रशाद स्मृति भवन ’को मंगलवार उद्घाटन गरिएको छ । भवनको टीकापुर नगरपालिका का मेयर रामलाल डगौंरा थारुले उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै मेयर थारुले बीरेन्द्र बिद्या मन्दिर ऐतिहासिक संस्था हो भन्दै यो हाम्रो पहिचान पनि हो भन्नुभयो ।

‘‘बीरेन्द्रको व्यबस्थापन गर्ने हाम्रो जिम्मामा छ ’’ थारुले भन्नुभयो ,‘‘ संस्थागत रुपमा अभिभावकत्व गर्ने बिषयमा छलफल भएको हो ।’’ मेयर डगौंरा थारुले बीरेन्द्रको गुणस्तर खस्केपनि यसलाई व्यबस्थापन आवश्यक छ भन्नु भयो । माग अनुसार स्रोत नभएपनि छात्रवास बढाउन निरन्तरता दिने मेयर थारुले बचन दिनुभयो । सबैको सहयोग भयो भने शैक्षिक नगरी बनाउन सकिन्छ भन्दै मेयर थारुले सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।‘‘ टीकापुरमा सम्भावना धेरै छन् ’’मेयर थारुले भन्नुभयो ,‘‘ गठबन्धनमा रहेका राजनीतिक दलले आफ्नो क्षेत्रबाट जनप्रतिनीधिलाई सहयोग गर्न दबाब दिनुपर्छ ।’’ पूर्ब मेयर तपेन्द्र बहादुर रावलले असल कामको थालनी र तत्पश्चात आज समापन भएको छ भन्नुभयो ।

‘‘स्वर्गिय रत्न प्रशाद सरको स्मृति सभामा बिद्यालयबाट भवन माग भएपछि उपहार दिएर जानुपर्छ भन्ने मनसाय राखेर बोर्ड बैठकमा प्रस्ताव राखे ’’ रावलले भन्नु भयो ,‘‘ यति ठूलो योजना त्यति सहज थिएन तै पनि बहुबर्षिय योजना बनाएर भवन निर्माणको निर्णय गरेका हौं ।’’उहाँले बीरेन्द्रको अस्तित्व हाम्रो अस्तित्वसंग जोडिएको बताउँनुभयो । ‘‘बीरेन्द्र , खड्ग मेमोरियल ,र सन्त निरकांरी एकै प्रकृतिका बिद्यालय भएपनि सञ्चालन पद्धती एक आपसमा बाझिएको छ ’’ रावल ले भन्नुभयो ,‘‘कार्यबिधी बनाएर शिक्षा नीति बनाउन जरुरी छ । ’’ शिक्षाको गुर्णस्तर बारेमा सबै सचेत हुनुपर्छ भन्दै रावलले विकास नियमित प्रकृया हो भन्नुभयो ।

गुठियार प्रमुख नवराज रावलले बीरेन्द्रलाई कसरी बलियो बनाउँन सकिन्छ भन्ने बारेमा स्थानीय राजनीतिक दल, सामाजिक अगुवाले चिन्ता गर्न जरुरी छ भन्नु भयो । ‘‘ धनगढी ऐश्वर्य कहाँ पुग्यो , बीरेन्द्र कहाँ छ समिक्षा गर्न जरुरी छ ’’ रावलले भन्नुभयो ,‘‘ स्वर्गिय रत्न प्रशाद सञ्याल प्रशासनमा दख्खल राख्ने मान्छे हुनुहुन्थ्यो ।’’ स्वर्गिय मेयर र बिद्यालयका प्रअको नाममा भवन निर्माण हुनु राम्रो पक्ष हो भन्दै काम गर्ने मान्छेको मुल्याकंन समाजले गर्नुपर्छ भन्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख तथा व्यबस्थापन समितिका अध्यक्ष बैकुण्ठ सुबेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति नरेश कुमार खत्री , कर्णाली सेवा समाजका अध्यक्ष मदन रोकाया , टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढबेन्द्र बहादुर रावल, समाजसेवी श्याम        खत्री , पूर्ब वडाध्यक्ष सूर्यचन्द्र भट्टराई , समाजसेवी भीमराम चपाई ,रेडक्रसकर्मी जगदिश्वर पण्डित, पत्रकार एकिन्द्र तिमिलसेना, पूर्ब प्राचार्य यज्ञराज ज्ञवाली , समाज सेवी भुवनेश्वर अधिकारी लगायतले बीरेन्द्रको अवस्था र विस्तारका बारेमा बिचार राख्नु भएको थियो ।

कार्यक्रममा बिद्यालयका पूर्ब प्रअ संज्यालका बारेमा बिद्यालयका शिक्ष ओमनाथ उपाध्यायले जानकारी गराउनुभएको थियो । कार्यक्रम सञ्चालन बिद्यालयका प्रअ फणेन्द्रराज रेग्मीले गर्नुभएको थियो भने स्वागत बिद्यालयका सहायक प्रधानाध्यापक डाक्टर योगेन्द्र बजगाईले गर्नुभएको थियो । कार्यक्रममा निर्माण कम्पनी बि एण्ड पी कस्ट्रक्सन , प्राबिधिक कर्मचारी नविन ओझा र सन्तोष पाण्डेलाई सम्मान गरिएको थियो ।

भ्याट बाहेक एक करोड २३ लाख ४१ हजार ६ सय २४ रुपैयामा निर्माण भएको २६ कोठे तीन तले भवन महिला होस्टेलका रुपमा प्रयोग गरिने भएको छ । बीरेन्द्रको होस्टेलमा लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका २२ जिल्लाबाट एक सय ७० जना बिद्यार्थी आवासीय रुपमा अध्ययन गर्ने गर्छन् । नीजि तथा संस्थागत साझेदारी अन्तर्गत सञ्चालित आवासीय छात्रवासमा अध्ययन गर्ने बिद्यार्थीलाई सरकारले प्रति बिद्यार्थी ३ हजार ५ सय रुपैया प्रदान गर्ने गरेको छ । यही रकममा बीरेन्द्रले बालबालिकालाई पढाउने गरेको छ ।