टीकापुर, १ जेठ/कैलालीमा निर्माणाधिन राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिचाई आयोजनाको करिब ६० प्रतिसत काम सकिएको छ । आर्थिक वर्ष २०६७ (सत्सठ्ठी)/०६८ बाट काम शुरु भई २०८०/०८१ मा काम सम्पन्न गर्ने लक्ष्य भए पनि अहिलेसम्म ६० प्रतिसत काम मात्र सकिएको छ ।
आयोजनाको गुरु योजना अनुसार २७ अर्ब ७५ करोड रुपैया लागत रहेकोमा अहिलेसम्म करिब १८ अर्ब रुपैया खर्च भइसकेको छ । अरु रकम खर्च हुन बाँकी रहेको र तोकिएको समय भन्दा काम अलि ढिलो सम्पन्न हुने देखिएको आयोजना प्रमुख केदार कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाका पहिलो चरणका सबै कामहरु सम्पन्न भइसकेका र अहिले दोस्रो चरणका कामहरु धमाधम भैरहेका छन् । दोस्रो चरण अन्र्तगत प्रशाखा नहर, त्यसपछिका टर्सरी फोर्स निर्माण, सडक ग्राभेल तथा पथरैया नदिका ३ स्थानमा पुल निर्माणका कामहरु भैरहेका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाले जेठ ३१ गतेदेखि रानी जमरा, कुलरीया तिरका नहरमा पानी सञ्चालन गरेको छ । पहिले बैशाख २५ गतेदेखि पानी सञ्चालन गरिए पनि नहको बिचमा बनिरहेको विद्युत गृहको केहि काम गर्नुपर्ने भएकाले करिब एक साता नहरमा पानी बन्द गरिएको थियो । अहिले जेठ ३१ गतेदेखि रानी,जमरा र कुलरीया नहरमा करिब ४५ क्यूमेक्स पानी सञ्चालन गरिएको र लम्की तिरको नहरमा पनि असार पहिलो साता पानी सञ्चालन गरिने प्रमुख श्रेष्ठले बताउनु भयो ।
आयोजना अन्र्तगत ४।७ मेगावाट क्षमताको विद्युत पनि उत्पादन हुने तयारीमा रहेको छ । त्यो निर्माणाधिन विद्युत उत्पादनको काम पनि यसै आर्थिक वर्ष भित्र सक्ने आयोजना को लक्ष्य रहेको छ । यसै आर्थिक वर्षको असोज कार्तिकमा आएको बाढीका कारण आयोजनाका विभिन्न क्षेत्रका क्षति पुगाएकोले केहि काममा ढिलाई भएको आयोजनाले जनाएको छ ।
यस वर्ष पनि कर्णाली नदि किनारमा जथाभावि उत्खनन् भैरहेकाले त्यो समस्या दोहोरीने सम्भावना देखिएकाले यस विषयमा यहाँका नागरिक देखि सरोकारवाला निकाय सजग हुनु पर्ने आयोजना प्रमुख श्रेष्ठले सुझाव दिनु भएको छ ।