टीकापुर , ०४ मङ्सिर/मदन पुरस्कार विजेता पुस्तक ऐँठन उपन्यासका लेखक विवेक ओझालाई टीकापुरमा विभिन्न संघसंस्था र समूहले सम्मान गर्न थालेका छन् । पुरस्कारले टीकापुरको शीर ठाडो पारेको भन्दै ओझालाई सम्मान गरेर धन्यवाद दिन थालिएको हो । आइतबार नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले दोसल्ला ओढाई सम्मान गरेको छ ।
सम्मानपछि कार्यक्रममा बोल्दै लेखक ओझाले ऐलानी उपन्यास ले सर्वोच्चमा मुद्दा झेलेको र नेपालमा साहित्य लेखेर लेखकको पुस्तकले मुद्दा झेलेको पहिलो इतिहास भएको बताउनुभयो । उहाँले द्धन्द्धपछिको घाउ नपुरिएकाले ऐँठन लेखेको बताउनुभयो ।
उहाँले समग्र युद्धको नियति माथि प्रश्न उठाउँदै नजानिदो गरी समाज हिंसाप्रेमी बन्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
सम्मान गर्दै रेडक्रस उपशाखाका सभापति दत्तबहादुर विष्टले आफ्नो ठाउँको मानिसलाई हौसला दिन सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रम सचिव धर्मराज शर्मा ले सञ्चालन गर्नुभएको थियो । २०७९ सालको मदन पुरस्कार विजेता ऐँठन उपन्यासका लेखक ओझाको पहिलो कृति एक पाइला आकाशमा गजल संग्रह २०७० सालमा बजारमा आएको थियो । त्यसपछि २०७४ सालमा ऐलानी उपन्यास बजारमा आएको थियो ।