लागु औषधका बारेमा सचेत हुनुपर्छ

सम्पादकीय
टीकापुर क्षेत्र लागु औषधका बारेमा बद्नाम छ । एकातिर ठाउँको बद्नाम अर्काे तर्फ युवाहरु कुलतमा फसिरहेका छन् । युवाहरु कुलतमा फस्दै जाने र समाजका अगुवाहरु चुपचाप बस्दा झनै समस्या हुन्छ । युवाहरुलाई कुलतमा फस्न नदिन प्रहरीले कडाई गर्न जरुरी छ । प्रहरीले कडाई गर्दा स्थानीय सामाजिक नेतृत्वले प्रहरीलाई छुटाउन दबाब दिनु गम्भिर अपराध हो । बिक्रीमा संलग्नहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ । कारबाही फितलो हुँदा कतिपयको मनोबल बढ्ने गरेको छ । कुलतमा फसेका युवाहरु समाजका लागि पनि समस्या हुन् । समाजमा असान्ती मच्चाउनेहरुको वकालत गर्नु गलत हो । लागु औषध सेवनका बिरुद्ध सामाजिक व्यक्तिहरुले जनचेतना फैलाउने खालका कार्यक्रम गर्न जरुरी छ । लागु औषध प्रयोग ठूलो समस्याको रुपमा रहेको छ । लागु औषधकै कारण युवाहरु बिग्रने र त्यस्ता युवाहरु अन्ततः बेरोजगार हुने निश्चित हो । बेरोजगार युवाहरु अपराधमा संलग्न हुन थालेका छन् । प्रहरीको कारबाहीलाई स्थानीयले सहयोग गर्ने हो भने नियन्त्रण हुन सक्छ । लागु औषध नियन्त्रण गर्ने सवालमा समाज सचेत हुन जरुरी छ । ठाउँको बद्नाम भइरहेको छ तर समाज गम्भिर भएके पाइदैन । कतिपयले लागु औषधमा फसेका युवाहरु छुटाएर भोटको राजनीति गर्ने गरेका छन् । कुलतमा फसेको युवाले सजाय पाए पो सुधार हुनसक्छ । सजाय नहुने हो भने जे गरेपनि हुन्छ भन्ने मानसिकता पलाउँछ । तसर्थ टीकापुरको समाज लागु औषधका बारेमा गम्भिर हुन जरुरी छ । लागु औषध बिक्री गर्नेहरुलाई छुटाएर समाज भाड्नेहरु लाई सामाजिक बहिस्कार गर्नुपर्छ ।