लालपूर्जा हातमा भएर पनि जग्गा उपभोग गर्न पाएनन्

टीकापुर, ४ जेठ/नापी कार्यालय टीकापुरले जग्गा नापी नगर्दा टीकापुर ८ श्रीलंकामा जग्गा भएका १९ परिवारले आफ्नो जग्गा उपभोग गर्न पाएका छैनन् ।
साविक धनसिंहपुर गाविस हाल टीकापुर ८ श्रीलंकाको टापुमा जग्गा नापी नहुँदा समस्यामा परेको भन्दै पीडितले बुधवार टीकापुरमा पत्रकार सम्मेलन गरेका छन् । जग्गा धनी प्रमाणपत्र लालपूर्जा हातमा हुँदा पनि वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला, स्थानीय जनक बोहरा लगायत केही व्यक्तिले जग्गा नापी गर्दा अबरोध गरेपछि लालपूर्जा हातमा भएका जग्गाधनीले प्रशासन र टीकापुरको न्यायीक समितिबाट समेत न्याय नपाएको गुनासो गरेका छन् ।
जग्गा नापी गर्न गएका नापीका कर्मचारीले सुरक्षाका कारण जग्गा नापी गर्दा गर्दै बीचमा छाडेर आएको पीडितहरुको गुनासो छ । वडाध्यक्षकै जोडबलमा जग्गा नापी नभएको पीडितहरुको भनाइ छ । पत्रकार सम्मेलनमा पीडितहरु ले जग्गा नापी गरिपाउँ भनेर सरकारी दस्तुर तिर्दा समेत प्रशासन ले सुरक्षाको प्रत्याभूती नगराउँदा नापीका कर्मचारीले जग्गा नापी गर्न नसक्ने जवाफ दिएको बताए ।
‘‘प्रहरी प्रशासन मात्र होइन उपमेयरको संयोजकत्वमा रहेको न्यायीक समितिले समेत जग्गा नापी गराउन सकेन,’’ जग्गा धनी मोहनसिंह बिकका नाती बिक्रम विकले भन्नुभयो । वैसाख १ गते प्रशासन प्रमुख, उपमेयर र पीडितहरुको छलफलमा प्रशासन प्रमुख र मेयरले अदालत जान सुझाव दिएको बिकले जानकारी गराउनुभयो ।
‘‘उपमेयर आफैले नापीमा लाग्ने शुल्क बुझाउनुहोस् म नापी गर्न लगाउँछु भन्नुभयो, हामीले प्रति कित्ता ५ हजार ८५ का दरले शुल्क ति¥यौ तर जग्गा नापी भएन,’’ विकले भन्नुभयो, ‘‘बाढीका कारण कैयन परिवार बिस्थापित भएका छन्, हातमा लालपूर्जा छ तर जग्गा अरुले उपभोग गर्दै आएका छन् ।’’ उहाँले अर्काको जग्गा हडपेर खाइरहेका व्यक्ति कै कारण जग्गा नापी नभएको हो भन्नुभयो ।
वि।सं। २०४० र २०४५ साल मा कर्णाली नदीमा आएको बाढीले त्यस क्षेत्रका सयौँ परिवार बिस्थापित भएर अन्यत्र बसाइसराई गरेका छन् । यसरी वास्तविक जग्गा धनी बिस्थापित भएपछि अहिले कतिपय नयाँ व्यक्तिले जग्गा उपभोग गर्दै आएका छन् । १९ जना एकजुट भएर जग्गा नापी मा लागेपनि केही जग्गाधनी र एलानी जग्गा भनेर जग्गा जोतभोग गर्दै आएकाहरु जग्गा नापी नहोस् प्रपञ्चनमा लागेका छन् ।


जग्गा नापी नभएर अस्थिरता भइरहे अर्काको जग्गा उपभोग गर्न पाइने मनसाय भएका र भएको जग्गा बिक्रि गरिसकेका व्यक्तिहरु पनि जग्गा नापी नहोस् भन्नेमा छन् । अझ डरलाग्दो कुरा त के भने वडाध्यक्ष ठकुल्लाले त्यस क्षेत्रमा बसाइ सराई दिएर समस्या बल्झाउन खोजेको उनीहरुको आरोप छ । स्थानीय केही व्यक्तिले ऐलानी भन्दै जग्गा बिक्रि गर्दै आएका छन् । नदी कटानले सीमा मेटिएपछि कुन जग्गा कसको हो भन्ने समस्या त थियो नै त्यसमा नदी बगिरहेका कारण उपभोग गर्ने अवस्था थिएन । १९ जना जग्गा धनी एकजुट भएर जग्गा खोजी गरिरहेका छन् भने कतिपय जग्गाधनी कता छन् भन्ने अत्तोपत्तो छैन । १९ जनाको करिब ५० बिघा जग्गा हुन आउँछ । जग्गाधनी पूर्जा भएका व्यक्तिले मालमोत कर भने बुझाउँदै आएका छन् ।
नदीले धार बदल्नु र नदीको दुबै छेउमा तटबन्ध भएपछि जग्गा धनी पूर्जा भएका जग्गाधनीहरु यतिखेर आफ्नो जग्गा खोजीमा छन् । नदीले धार परिवर्तन गर्दा नम्बरी जग्गा छुट्टिएको छ भने नदी ऐलानी जग्गामा बग्न थालेको छ । नक्सामा प्रष्ट देखिदा पनि जग्गा नापी गर्न नमान्नुको कारण भूमाफिया को खेल हो पीडित मानबहादुर चौधरीले बताउनु भयो ।
‘‘हामीले जग्गा नापौं मात्र भनेका छौँ, यसमा बिबाद गर्नुको कारण केही छैन,’’ चौधरीले भन्नुभयो, ‘‘हातमा एक बिगाहा जग्गाको पूर्जा छ तर ५ बिघा देखि १० बिघा जग्गा उपभोग गरेका छन् ।’’
‘‘भूमिसुधारले वि।सं। २०२१ सालमा दिएको जग्गा नदीले कटान गरेपनि अहिले धार परिवर्तन गर्दा जग्गा जोगिएको प्रष्ट देखिन्छ,’’ चौधरीले भन्नुभयो, ‘‘जग्गा नापी गगराइदिन अदालत जो तयारीमा छौँ ।’’ २०६५ सालसम्म जग्गा प्रयोग गर्दै आएको चौधरीको भनाइ छ । पीडितहरु अदालत जानुभन्दा पहिला राजनीतिक दल र स्थानीय पत्रकारलाई समस्याका बारेमा जानकारी गराएको उनीहरुको भनाइ छ ।