टीकापुर, २८ बैशाख/वस्ति नजिकैको जंगलमा हात्ति देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिकहरु त्रसित भएका छन् । नगरपालिकाको वडा नम्बर २ को पूर्वतिरको जंगलमा आजभोली दैनिक जसो हात्ति देखिन थालेपछि उनीहरु त्रसित भएका हुन् ।
खोटेना भूराखानी सामुदायिक वन क्षेत्रमा बढीजसो हात्तिहरु देखिने गरेका छन् । कहिले एक्लै त कहिले २ ओटा हात्तिसंगै देखिने गरेका छन् । दिउँसोको समयमा खोटेना भूराखानी सामुदायिक वनको पूर्वतिर कर्णाली नदिको बिच टापुमा हात्ति देखिन्छन् भने रात्रिको समयमा हात्ति वस्तितिर आउने गरेका छन् । खोटेना भूराखानी सामुदायिक वनका वन हेरालु टीकाराम बोगटी ले बताउनुभयो ।
केहि दिन अघिमात्र सितापुर गाउँको जंगल छेउतिरको वस्तिमा केहि व्यक्तिको घाँस फर्ममा हात्ति पसेर घास समेत खाइदिएको छ । गाउँमा हात्ति पसेको थाहा पाएपछि होहल्ला गर्ने, बाजागाजा बजाउने, भाडा कुँडा ठटाउने काम स्थानीय नागरिकहरुले गरिरहेका छन् । केहि दिन अघि गाउँमा पसेको हात्तिलाई पनि आफूहरुले होहल्ला गरेरै भगाए को सितापुरका लक्ष्मण चौधरी बताउनुभयो ।
वडा नम्बर २ को पूर्वतिर खोटेना भूराखानी, रानी कर्णाली, सितल र जनशक्ति गरी ४ ओटा सामुदायिक वनहरु रहेका छन् । ति सामुदायिक वनहरुमा दैनिक सयौ उपभोक्ताहरु घाँस दाउरा गर्न जान्छन् । हात्ति देखिन थालेपछि जंगलमा घास दाउरा गर्न जाने नागरिकहरु पनि डराई डराई जाने गरेका छन् । टीकापुरकी राधिका रावतले बताउनुभयो ।
हात्ति देखिन थालेपछि जंगलमा घाँस दाउरा गर्न जाने नागरिकहरु लाई सामुदायिक वनका पदाधिकारी तथा कर्मचारीहरुले पनि सजग रहन आग्रह गर्ने गरेका छन् ।
वडा नम्बर २ को पूर्वतिर अधिकांश जंगल क्षेत्र पर्ने भएकाले वडा कार्यालयले पनि जंगल तिर जाँदा वा रात्रिको समयमा जंगल छेउ वस्तिका नागरिकलाई सचेत रहन आग्रह गरेको टीकापुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक चौधरी बताउनुभयो ।
त्यो जंगल क्षेत्रमा गतवर्ष हात्ति को आक्रमणबाट एक जना महिलाको मृत्यू भएको थियो भने केहि महिना अघि बाघको आक्रमणबाट एक जना घाइते हुनु भएको थियो । अबका दिनमा हात्ति तथा बाघको आक्रमणबाट त्यस्ता घटना नदोहोरिउन् भनि नागरिकहरु सचेत भई सूचना आदान प्रदान गर्न जरुरी देखिन्छ ।