विद्युत अनियमित हुंदा नागरिकलाई समस्या

टीकापुर, १४ चैत/ कैलालीमा विद्युत अनियमित हुँदा नागरिक लाई समस्या भएको छ । पटक पटक बत्ती झ्याप झ्याप्प जान थालेपछि नागरिक लाई समस्या हुन थालेको हो । विद्युत झ्याप्प झ्याप्प काट्दा मेशिनरी सामान बिग्रन थालेका छन् भने परीक्षा नजिकिदै गरेका बेला बत्ती अनियमित भएपछि विद्यार्थीलाई समेत समस्या भएको छ ।
एसइइ परीक्षा दिने तयारीमा रहेकी टीकापुरकी सीमा खत्री साँझको समयमा जाने विजुलीका कारण हैरान हुनुहुन्छ । ‘‘परीक्षा नजिकिदै छ । यो बेला साँझपख विजुली नगए पनि हुन्थ्यो तर विजुली गइरहदा अध्ययनमा समस्या भएको छ’’,उहाँले भन्नु भयो,‘‘हरेक दिन साँझ अध्ययन गर्ने समयमा बत्ती हुँदैन । लाइन जाने भएमा विद्युत कार्यालयले सूचना दिनुपर्छ तर विना सूचना पटक पटक दिनमा ५ पटकभन्दा बढी बत्ती जाने गरेको छ ।’’


अनियमित बत्तीले घरका मेशिनरी सामान समेत बिग्रन थालेका छन् । बत्ती अनियमित हुँदा जानकी गाउँपालिकाको मुनुवाकी आशा भुलका घरका बत्ती, पंखा लगायतका सामान बिग्रिएका छन् । उहाँ पनि आफू विद्यार्थी भएकाले थप समस्या भएको बताउनुहुन्छ । ‘‘बत्ती झ्याप्प झ्याप्प जाने आउने हुन्छ, घरका मेशिनरी सामान बिग्रिए, गरिरहेको काम अबरुद्ध हुन्छ’’, उहाँले गुनासो गर्नुभयो, ‘‘साँझ को समयमा बढी बत्ती जान्छ । साँझ बालबालिकाको पढ्ने समय हुन्छ । म पनि विद्यार्थी हो । विद्युत अनियमित भएर समस्या भएको छ ।’’
समय समयमा विद्युत लाइन कट्दा टीकापुरका कृष्णलाल शर्मा पनि दिक्क हुनुहुन्छ । उहाँ साँझ खाना पकाउने, खाना खाने समय मा पटक पटक विद्युत जाँदा थप समस्या भएको बताउनुहुन्छ । ‘‘कहिलेकाहीँ २ देखि ३ घण्टासम्म बत्ती आउँदैन । एक÷दुई दिन भए पनि गुनासो नगर्नु । विद्युत अनियमित भएको महिनौँ भइसक्यो ।’’
गर्मी सिजन शुरु भएकाले विद्युत अनियमित हुँदा झन समस्या भएको नागरिकको गुनासो छ । सरस्वति धानुक पनि सबै नागरिकलाई समस्या भइरहेको बताउनुहुन्छ । उहाँ बत्ती काट्दा सूचना दिनुपर्ने भए पनि सूचना बिना पटक पटक बत्ती काट्दा निकै समस्या भएको बताउनु हुन्छ । ‘‘सेवा प्रदायकले सेवा अबरुद्ध हुँदा सूचना दिनुपर्ने हुन्छ । तर विद्युत कार्यालयले सूचना दिन आवश्यक ठानेको देखिदैन’’, धानुक भन्नुहुन्छ, ‘‘उपभोक्ताको अधिकारबारे ध्यान दिनुपर्छ । विद्युत अनियमित हुँदा सबैलाई मर्का परेको छ ।’’
विद्युत प्राधिकरण वितरण केन्द्र शाखा कार्यालय टीकापुरले गर्मी शुरु भएकाले गर्मीको समयमा समस्या नआवस भनी फागुन महिनादेखि सुधारका काम भइरहेका बताएको छ । कार्यालय प्रमुख माधव महत मर्मतको काम अझै एक डेढ महिना चल्ने बताउँदै मर्मतका क्रममा बत्ती काट्नु, जोड्नु परिरहेको बताउनुहुन्छ । ‘‘मर्मत भइरहेको क्षेत्रमा केही समय विद्युत अबरुद्ध हुने गरेको हो । बर्खायाम मा विद्युत आपूर्तिमा समस्या नहोस् भनी मर्मत गर्नुपर्ने ठाउँमा
मर्मतको काम भइरहेको छ’’, कार्यालय प्रमुख महतले भन्नु भयो, ‘‘अझैँ करिव डेढ महिना मर्मतको काम चल्नेछ । यो समयमा विजुली बन्द गर्नु हाम्रो वाध्यता हो ।’’
प्राधिकरणले मर्मत चलिरहेका ले विद्युत अनियमित भएको बताइ रहँदा गर्मीको समयमा नागरिक लाई राहत दिन मर्मत कार्य समयमै सक्न र विद्युतको नियमितता बारे ध्यान दिन उपभोक्ताको माग छ ।