विपद्मा महिला सवाल र नेतृत्वबारे चासो

टीकापुर, १० भाद्र/वि.सं. २०७८ सालमा कैलालीमा बेमौसमी वर्षापछि बाढी आयो । बेमौसमी वर्षापछिको बाढीले कैलालीका तटीय क्षेत्रका पालिकामा ठूलो क्षति भयो । बाढीले टीकापुर नगरपालिकाका पनि सयौँ परिवार विस्थापित भए । विस्थापित भएर उच्च घर तथा विद्यालयमा बसेकाहरुले विभिन्न खाले समस्यासँग जुध्नु  पर्छ । बाढीका कारण विस्थापित भएकी एक गर्भवती लाई सेल्टरमा बसिरहेका बेला ब्यथाले चाप्यो । निरन्तरको वर्षाले स्वास्थ्य संस्था सम्म जाने बाटो अबरुद्ध भएकाले ती महिलालाई सेल्टरमै सुत्केरी हुनुपर्ने वाध्यता थियो ।


व्यथाले च्यापेकी महिलालाई सुत्केरी सेवा दिएकी टीकापुर ८ की स्थानीय निलु चौधरी त्यो पीडा भुल्न नसकिने बताउनुहुन्छ । ‘‘बाढीले बाटो अबरुद्ध थियो, उहाँलाई व्यथाले च्याप्यो, आवश्यक सरसामान पनि केही थिएन’’, निलु भन्नुहुन्छ, ‘‘मैले स्वास्थ्यकर्मी लाई फोन गरे, उहाँले सुझाए अनुसार उहाँलाई सुत्केरी गराए । मैले कसरी सेवा दिए, अहिले सम्झदा डर लाग्छ ।’’
त्यसरी सेल्टरमा जन्मिएको बच्चा अहिले ठूलो भइसकेको छ । ‘‘त्यो बेला ति सुत्केरी र बच्चालाई जोगाउन नसकेको भए के हुन्थ्यो  ? ’’, निलु भन्नुहुन्छ, ‘‘सेल्टरमा पनि सबैखाले सुविधा चाहिन्छ, हरेक विस्थापितहरु बस्ने ठाउँमा एकजना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्छ । महिलाका लागि अनिवार्य सुरक्षित आवास चाहिन्छ ।’’
कैलाली हरेक वर्ष बाढीजन्य विपद्को जोखिममा पर्छ । कैलालीमा बाढी, हावाहुरी, आगलागी, शितलहर जस्ता विपद्ले नागरिकलाई जोखिममा पार्छ । विशेषगरी बाढीजन्य विपद्ले जोखिममा रहेका क्षेत्रका जोखिममा रहेका नागरिकलाई असर पार्छ । विपद्कान समयमा महिलाका सवालमा गम्भिर बन्नुपर्ने र विपद्मा उद्दार,राहत तथा प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनुपर्नेमा छलफल हुन थालेको छ ।
स्थानीय विष्णु रेग्मी सुत्केरी का बालबालिका साना हुने भएकाले बच्चाका आमा र गर्भवती राख्ने आवास सुरक्षित, सुविधासहितको छुट्टै हुनुपर्ने बताउनुहुन्छ । ‘‘बालबालिका साना हुन्छन्, सेल्टरमा बस्दा सबैलाई एकै खालको, एकै समय मा खाना दिइन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘बच्चा, सुत्केरी, गर्भवतीलाई एकै खालको खानाले हुँदैन, उनीहरु लाई पोषणयुक्त खाना चाहिन्छ ।’’
अझ महिलालाई सेनिटर प्याड, साना बच्चालाई डाइपर चाहिन्छ । वर्षा भइरहेको समयमा कपडा नसुक्ने, कपडाको समेत अभाव हुने भएकाले साना बच्चा भएकालाई कपडा पनि पर्याप्त चाहिने कुरामा ध्यान दिनुपर्छ ।
टीकापुर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख संगीता शाह विगतमा महिलाका लागि सुरक्षित घर नभएकाले समस्या भए पनि गत वर्षबाट विभिन्न संघसंस्थाले सुरक्षित आवास बनाएकाले समस्या नहुने बताउनुहुन्छ । ‘‘महिलाका लागि सुरक्षित घर बनेका छन्, अब समस्या
नहोला’’, उहाँ भन्नुहुन्छ, ‘‘अस्पतालमा पनि विपद् तथा हिंसामा परेकालाई छुट्टै राखेर, निशुल्क उपचारको व्यवस्था छ ।’’
विपद्का समयमा महिला पहिलो प्राथमिकतामा आउनु पर्ने सिनियर अहेव कमल रावल बताउनुहुन्छ । ‘‘विपद्का समयमा महिलामा पनि सुत्केरी, गर्भवती र साना बच्चाका सवालमा गम्भिर बन्नुपर्छ’’, उहाँ भन्नु हुन्छ, ‘‘उनीहरुका लागि पहिल्यै योजना बनाएको हुनुपर्छ । उनीहरुलाई तत्काल उद्दार तथा राहतका सुविधा दिनुपर्छ ।’’
टीकापुर बाढीजन्य विपद्को मुख्य जोखिममा रहने गर्दछ । बाढी आउँदा मानवीय संकट को जोखिम रहने भएकाले जोखिम न्यूनिकरण गर्न तयार भएका संरचनामा महिलाको नेतृत्व र सहभागिता न्यून रहेकाले महिलाको नेतृत्व बढाउन आवश्यक रहेकोमा जोड दिइएको छ । महिलाको प्रजनन भूमिका हुने भएको महिला कमजोर हुन्छन भन्ने भावना त्याग्न र विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्यमा महिलालाई भूमिका दिनुपर्ने आवश्यकता रहेको महिला पुनस्थापना केन्द्र ९ओरेक० कैलालीका जिल्ला संयोजक गीता चौधरी बताउनुहुन्छ । ‘‘विपद्मा परेकालाई दिने सुविधा मात्र होइन, उद्दार तथा प्रतिकार्यका कार्यमा समेत महिलाको सहभागिता बढाउन आवश्यक छ’’, उहाँ भन्नुहुन्छ, ‘‘टीकापुर नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिमा समेत दुई जनामात्रै महिला छन् । यसले पनि महिला नेतृत्व कमजोर छ भन्ने देखाउँछ ।’’
विपद्पछि पनि सेल्टर बनाउँदा,राहत दिँदा समेत महिलाका समस्या र राहतका सामग्रीमा महिलाको अधिकारलाई ख्याल गर्ने गरिएको कम पाइएकाले यसमा सुधार आवश्यक रहेको चौधरीको भनाइ छ । ‘‘वडास्तरमा महिला तथा युवाको सहभागिता बढेको भए पनि पालिकास्तरको समितिमा महिला न्यून छन् । धेरैभन्दा धेरै महिलालाई प्रतिकार्यमा खट्ने वातावरण बनाउनुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘महिला कमजोर हुन्छन् भनेर नेतृत्व गर्न दिइएको छैन, महिलालाई पनि उद्दार, राहत तथा प्रतिकार्यका कार्यमा बढी सहभागी गराउने, नीति निर्माण गर्ने तह र विभिन्न समितिमा थप सहभागी गराउन आवश्यक छ ।’’
टीकापुर नगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएर विपद् न्यूनिकरणका क्षेत्रमा काम गरिरहेको छ । पालिकाले स्थानीय स्तरमा स्वयम सेवक, हरेक वडामा विपद् व्यवस्थापन समितिलाई सक्रीय बनाएको छ । पालिकामा नेपाल रेडक्रस सोसाइटी, दिगो विकास समाज भजनी, सिएसएसडी र ओरेक नेपाल कैलालीले विपद्का क्षेत्रमा काम गरिरहेका छन् । रेडक्रसले तथ्यांक व्यवस्थापन, कानून निर्माण र योजना निर्माणमा सघाइरहेको छ । सिएसएसडीले समुदायस्तरमा विपद् व्यवस्थापन समिति गठन, खोज तथा उद्दारका टोली गठन, समितिलाई सक्षम बनाउन, नियमित बैठक तथा पूर्वाधार निर्माणमा सघाउने लगायत का काम गरिरहेको छ ।दिगो विकास समाजले विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रम, विपद् प्रभावितलाई जिविकोपार्जनका लागि तालिम तथा प्रविधि दिने काम गरेको छ । ओरेक नेपालले मानवीय संकट न्यूनिकरण र त्यसमा महिला नेतृत्व बढाउन काम गरिरहेको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउनु हुन्छ । ‘‘संघसंस्थाले विपद्का क्षेत्रमा सहकार्य गरिदिँदा विपद् पूर्व तयारी तथा प्रतिकार्य मा सहज भएको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘हामी प्रतिकार्यमा महिला सहभागिता बढाउनुपर्छ भनी लागिरहेका छौँ, यसपटक हामीले वडा वडामा स्वयमसेवक तयार गरेका छौँ, त्यसमा महिला, पुरुष बराबरी हुनुहुन्छ । उहाँहरुलाई उद्दार तथा प्र्रतिकार्यमा कसरी खट्ने भनी तालिम दिएका छौँ ।’’
चौधरीका अनुसार पालिकाले महिलालाई विस्थापित बस्ने आवास निर्माणबारे पनि तालिम दिएर समुदायमा खटाएको छ ।