वृहत् सरसफाइ कार्यक्रम सम्पन्न

टीकापुर, २२ मंसिर/टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले नगरपालिका एकलैले फोहोर व्यवस्थापन गर्न नसक्ने बताउनुभएको छ ।
टीकापुर जेसीज वर्ष २०२२ को सप्ताह व्यापी कार्यक्रमका क्रममा नगर उपप्रमुख शाहले टीकापुर बनाउने कुरामा सम्पुर्ण नागरिकहरु को दाइत्व उत्तिकै महत्त्वपूर्ण रहे को बताउँदै सामाजिक सरोकारका कुरामा नगरपालिका सबैसँग हातेमालो गरेर जान तयार रहेको बताउनुभएको छ ।


उहाँले सबै नागरिकहरुले सकारात्मक सोचको विकस गरी आफ्नो जिम्मेवारीको बोध गर्न सकेमात्रै थुप्रै कुराहरुको प्राप्ति नगरले गर्न सक्ने बताउनुभएको छ । “हामी आफू र आफ्नो घरबाट राम्रो कुराको सुरुवात गरौंन । जस्तो फोहोरकै कुरामा पनि घरबाट निस्केको फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गरौं । कुहिने फोहोर आफ्नै बारीमा प्रयोग गरौं । नकुहिने फोहोर नगरपालिकाले व्यवस्थापन गर्छ ।“ शाहले भन्नुभयो, “अर्को कुरा बजारमा व्यापारीहरुले नागरिकको जिम्मेवारी मात्रै पूरा गरौं न । पसल बाट संकलन भएको फोहोर सडक मा नभई कार्टुन वा सानो डष्टबिन मा राख्ने गरौं । त्यसपछि त बजार आफै सफा हुन्छ ।“


सप्ताह व्यापी कार्यक्रम अन्तर्गत वृहत् सरसफाई कार्यक्रमका संयोजक झलनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर जेसीज वर्ष २०२२ का अध्यक्ष टोप प्रकाश विकले जेसीजले साप्ताहिक कार्यक्रम आयोजना गरेर नागरिकहरूलाई सुसूचित गर्ने काम गरेको बताएका छन् । “हामीले एक दिन काम गरेर त्यसबाट अपेक्षित उपलब्धि खोज्नु गलत हो । जुन काम हामीले गर्छौं , त्यो सांकेतिक कार्य हो । यसबाट समाजले सिकेर त्यसको कार्यान्वयन गर्ला भन्ने हाम्रो लक्ष्य हो ।“ अध्यक्ष विकले भन्नुभयोे, “समाजको प्रबुद्ध ब्याक्तीहरु मध्येको युवाहरुको कार्यक्रमले समाजलाई प्रभाव पर्छ र त्यसबाट समाजका नागरिकहरुलाई उत्तरदायी बनाउन सकिन्छ भन्ने हो ।“
शिव मन्दिर परिसरमा भएको सरसफाई कार्यक्रम मा कैलाशेश्वर शिव मन्दिरका उपाध्यक्ष ताराप्रसाद अधिकारी सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
जेसीजका कार्यकारिणी उपाध्यक्ष रुपक बहादुर बिष्टले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव मंगल बहादुर शाहले गर्नुभएको थियो ।