शल्यक्रिया हुन थालेपछि टीकापुर अस्पतालमा बेडको अभाव

टीकापुर,४ साउन/टीकापुर अस्पतालमा शल्यक्रिया हुन थालेपछि बेडको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि बेडको अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नीका ५ जनाको शल्यक्रिया हुने गरेको थियो । अस्पतालले एक हप्तादेखि सर्जन डाक्टरको सेवा उपलव्ध गराएपछि शल्यक्रिया गर्ने बिरामीको संख्या बढेको हो ।
सर्जन डाक्टर आएपछि टीकापुर अस्पतालबाट अब हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पथ्थरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्यूमर, छातीमा रगत तथा पानी भरीएको लगाएतका समस्याको शल्यक्रिया हुन थालेको छ । टीकापुर अस्पताल मा अहिले जनरल सर्जन, अर्थो, बालरोग, स्त्री तथा प्रसुती, एनेष्थिएसीया, एमडीजीपी सेवा उपलब्ध रहेका छन् ।


यसरी शल्यक्रियाका बिरामी बढेपछि अस्पतालमा बेड अभाव भएको छ भने अप्रेशन थ्रेटरका लागि पालो कुर्नुपर्ने भएको छ । बेड अभाव भएपछि बिरामी दुई दिनसम्म पालो कुर्दै बस्न बाध्य भएका छन् ।
जोशीपुरकी सरस्वती श्रेष्ठका बुवाको हाइड्रोशिलको शल्यक्रिया का लागि पालो कुर्नुपरेको र बेड पाउन निकै सकस भएको छ । ‘‘बुवाको शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पताल आएका हौँ । सोमबार आएका भएपनि बेड पाउन समस्या भयो’’, उहाँले भन्नुभयो, ‘‘बल्लतल्ल धेरै अनुरोध पछि बेड पायौँ, आज शल्यक्रिया हुने भनिएको छ । शल्यक्रियापछि बेड पाउने भनिएको छ । थप बिरामी राख्न अस्पताललाई बेडमा रहेका बिरामी घर पठाउनु परिरहेको छ ।’’
शल्यक्रिया गर्नु पहिला भर्ना हुनुपर्ने र शल्यक्रिया भएपछि एक हप्तासम्म अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । बिरामीको चाप बढेपछि बिरामीको अवस्था हेरेर अस्पतालले चाडो घर पठाउने र जटिलता भएका बिरामीलाई बेड उपलव्ध गराउन थालेको छ । बिरामीले सुबिधा पाएको भएपनि अस्पताल सँग भौतिक सुबिधा अभाव हुँदा बिरामीका कुरुवाले अस्पताल प्रशासनसँग आक्रोस पोख्ने गरेका छन् ।
टीकापुर अस्पताल ५१ बेडको मात्र भए पनि अस्पतालले थप बेड थपेर सेवा दिइरहेको छ । अस्पताल मा सर्जरी गरेका बिरामीलाई राख्ने बेड अभाव भएकाले थप ५१ बेड भएमा सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपड सोडारी बताउनुहुन्छ । ‘‘५१ बेडमात्र भएकाले धान्न मुश्किल भएको छ ।
हामीकहाँ दैनिक ४० देखि ५० जनासम्म बिरामी नियमित भर्ना हुन्छन्, त्यसैमाथि नियमित शल्यक्रिया सेवा दिएपछि बेड भरिभराउ भएका हुन्’’, उहाँले भन्नुभयो,‘‘थप ५१ बेड भएमा मात्र बेड अभाव हुँदैन ।’’
टीकापुर अस्पतालमा शल्यक्रिया सेवा पाएपछि यहाँका बिरामीलाई धनगढी र नेपालगञ्ज जानुपर्ने वाध्यता हटेको छ । टीकापुर अस्पतालमा कैलालीको टीकापुर सहित जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नागरिक पनि सेवा लिन आउने गरेका छन् ।