शेयर बजारमा जनता ठगिदै

सम्पादकीय
नेपालमा जसरी पनि जनता ठगिने प्रबृत्ति मौलाएको छ । एउटा पेशामा अर्कालाई र पछि त्यही व्यक्ति अर्को पेशाकर्मीबाट ठगिन थालेपछि सबै यस्तै हो भन्दै चुपचाप बस्न थालेका छन् । हरेक क्षेत्रमा बेथितीका चाङ छन् । नागरिकले व्यवसाय गर्ने वातावरण छैन । व्यबसाय गर्ने हो भने भएको पंूँजी पनि डुव्छ । राज्यको नीति ठूलालाई सघाउने छ, साना मरुन् बाचून सत्तामा बसेकाहरुलाई वास्ता छैन । यसरी काम गर्ने वातावरण छैन भने लगानी गर्ने पनि वातावरण छैन । नागरिकले गरेको सानो बचत कहाँ लगानी गर्ने भन्ने समस्या छ । सानो बचत रकम शेयर लगानी गर्ने वानी बस्न थालेको थियो शेयरमा पनि बद्मासी हुन थालेपछि जनता त्रसित छन् । जलविद्युतमा लगानी गर्न जनता तयार थिए तर विद्युत माफियाहरुले जनताको रकम लिने अनी संस्था डुबाउने गरेका छन् । लगानीे गरेको रकमको व्याज पनि नआउने गरी सस्थामा बसेका व्यक्तिहरुले जनतालाई ठग्दै आएका छन् तर राज्य मौन छ । विद्युत उत्पादन गरेर आम्दानीको स्रोत बढाउनु राम्रो हो तर माफियालाई यसबाट गलत फाइदा लिन थाले । एकताका करिब २७ लाख शेयर धारकले आइपिओमा लगानी गर्ने गरेका थिए तर पछिल्लो समय आधा घटेका छन् । कम्पनी खोल्ने र आफ्नो रकम उठाउन नागरिकबाट शेयर उठाउने गरेका छन् । जनताको लगानी भएपछि सबै कुरा पारदर्शी हुनुपर्छ तर एक दुई हजार लगानी गरेका नागरिकले त्यो पैसाको हिसाव कसरी खोज्न सक्छन् रु शेयरमा आम नागरिक डुव्न थालेका छन् । शेयर बजारमा जोखिम हुन्छ भन्ने सबैले बुझेको कुरा हो तर घाटामा गएका र नाफामा जान नसक्ने कम्पनीलाई आइपिओ निस्कासन गर्न दिनु गलत हो । जनताले सरकारी निकायको विश्वास गर्नु गलत होइन । आइपिओ निस्कासन गर्ने होडबाजी चलेको छ । २७ लाख शेयर धारक मध्ये १५ लाखले एक हजारका दरले शेयर लिने हो भने मात्र पनि डेढ अर्ब हुन्छ । यसरी डेढ अर्बबाट जनताबाट लिने अनी संस्था डुबाउनेहरु यतिखेर रमाएका छन् । सरकारले जनता ठग्नेहरुलाई कानूनको डण्डा लगाएपछि जनता ठगिने थिएनन् । जनता नठगिने हो भने शेयरमा लगानी बढ्छ । जनताले बैङ्कमा बचत गर्नुभन्दा शेयरमा लगानी गर्नु फाइदा हुन्छ अर्को तर्फ देशमा उद्योग कलकारखाना
खुल्छन् । कानूनलाई छलेर नागरिक लुट्नेहरुलाई सरकारले कारबाही गर्न जरुरी छ । तसर्थ कानुन बलियो नहुँदासम्म नागरिकले शेयरमा या कम्पनीमा लगानी गर्नु घातक हुन्छ ।