श्रीपञ्चनी र विद्यालय भर्ना

बिचार

महेन्द्रसिंह बम

भगवती सरस्वती विद्या कि अधिष्ठात्रीको रूपमा सर्वत्र पूजित छन । भनिन्छ कि सर्वप्रथम भगवान श्रीकृष्णले इनको पूजा गरेका थिए र वहाँले ‘हे देवी प्रत्येक ब्रह्माण्डमा माघ शुक्ल पञ्चमीको दिनमा विद्यारम्भको अवसरमा भव्यता को साथ तिम्रो पूजा हुने छ । ’ भनी वर दिनु भएकी थियो । सरस्वती पूजाका विभिन्न विधि र प्रकार छन । विद्यालयहरुमा माघ शुक्ल पञ्चमीको दिन शिक्षक र विद्यार्थी दुबैले बढो श्रद्धा पूर्वक सरस्वतीको पूजा गर्ने गरेका छन । संगीत , नृत्य , चित्र र अन्य ललित कलाका सर्जक तथा साधकहरुले यस दिनलाई श्रद्धा र भव्यता पूर्वक मनाउने गर्दछन । यस दिनमा विद्या आरम्भ गर्नु शुभ मानिने हुनाले बालबालिकालाई विधि पूर्वक घरमै अक्षरारम्भ गराउने चलन चली आएको छ । यस दिनमा बाल – बालिकाहरु को कर्ण क्षेदन संस्कार पनि सम्पन्न गर्ने गरिन्छ ।
जहाँ सम्म बाल–बालिकाहरु को अक्षरारम्भ गराउने कुरो छ , त्यस सन्दर्भमा आजभोलि विद्यालयहरुले भर्ना शुल्क छूट र अन्य आकर्षणको प्रलोभन सहित विज्ञापन गर्ने चलन जोरशोरले चलेको छ । विद्यार्थीको चौतर्फी विकास गराउने वाचा देखि विद्यालयका स्त्रोत साधन र सुविधाहरूको उल्लेख गरिएका विज्ञापनका ब्यानरहरु यस अवसरमा जताततै देख्न सकिन्छ । गाँउहरु समेत यसबाट अछुता छैनन् । यस्ता विज्ञापन गर्ने होडबाजीमा सामुदायिक भन्दा पनि निजी संस्थागत विद्यालयहरु अगाडि छन ।
श्रीपञ्चमीको अवसरमा भर्ना शुल्कमा छूटलाई अभिभावकले अवसरको रूपमा लिने गर्दछ्न । भने विद्यालयहरुले आधार पूँजीको रूपमा लिने गरेका छन । प्लेग्रुपमा भर्ना हुने विद्यार्थी को लागि विद्यालय दोस्रो घरका रूपमा हुन पुग्दछ । यहाँनेर बालबालिकालाई उपयुक्त तरीकाले सही साँचोमा ढाल्न सक्ने शिक्षकहरुले विद्यालय को गरिमा बढाउनुको साथै सही अर्थमा राष्ट्र सेवा गरि रहेका हुन्छन ।
तर नेपालको सन्दर्भमा अधिकाँश विद्यालयहरुले विद्यार्थीहरुलाई अंग्रेजी राइम घोकाउने र परीक्षामा राम्रो अंक ल्याउन सक्ने मात्र बनाएका हुन्छन् । किन भने विद्यालयहरुले अभिभावकको मनोविज्ञान बुझी सकेका छन त्यसै अनुसार अंग्रेजी बोल्ने र ए ग्रेड ल्याउन सक्ने खालका विद्यार्थी उत्पादनमा मात्र ध्यान दिएका         छन । यसको लागि विद्यार्थीलाई झिस्मिसे देखि भरे साँझ सम्म किताबी गतिविधिमा अल्झ्याउने काम समेत गरिन्छ । विद्यालयहरु यसमा निरन्तर लागि राखेका छन ।
के अंग्रेजी भाषा फरर गरि बोल्न जान्नु र ‘ए’ ग्रेड ल्याउनु नै विद्यार्थी को चौतर्फी उन्नतिको द्योतक हो रु जीवन जीउन यती भए पुग्दछ रु यी प्रश्न निरुत्तरित छन । व्यक्तिमा विद्यमान आन्तरिक क्षमताको सम्पूर्ण विकासको लागि किताबी ज्ञान र पाठयक्रम भित्रको घेराबन्दीमा बसेर पुग्दैन । यहाँनेर भूतपूर्व अमेरिकी राष्ट्रपती अब्राहम लिङ्कनले शिक्षकलाई लेखेको चर्चित पत्र सम्बन्धमा उल्लेख गर्न सान्दर्भिक ठान्दछुँ । वहाँले मेरो छोरा किताब भन्दा पर प्राकृतिक रहस्यहरु प्रती पनि उत्सुक बनोस् र जीवन मूल्य सीकोस् भन्ने अपेक्षा सहित लेखे ‘मेरा छोराले आकाश मा उढी रहेका चराहरु, सूर्यको प्रकाशमा भुनभुनाई रहेका माहुरीहरु, हरिया पहाडमा फुलि रहेका फूलहरुको शाश्वत रहस्य बुझ्ने समय पाओस् । उसले सिकोस सित्तैमा पाएको एक डलर भन्दा मिहिनेतले कमाएको दस सेन्ट बढी मूल्यवान हुन्छ । चिट चोरेर पास हुनु भन्दा फेल हुनु बढी सम्मानजनक हुन्छ । मेरो छोरा दुख र कष्ट्मा पनि प्रफुल्ल रहन सकोस । भीडका पछाडी नलागोस् । हरेकका कुरा सुनोस् तर सुनेका कुराको लेखा जोखा गर्न सकोस् र असल कुरा छानेर लिन  सकोस् ।’
हाम्रा अभिभावकहरु अंग्रेजी भाषा र परीक्षाको अंकको मात्रै आशामा राम्रो विद्यालय खोज्दै हिंड्दछन । स्कूलहरु मरि मेटेर अभिभावकहरु को इच्छा पूरा गरि दिन लागि परेका छन । उनीहरुको शिक्षाको केन्द्रबिन्दु विद्यार्थी नभइ अभिभावक भएका छन ।
हाम्रा विद्यालयहरु पहिलो दिन देखि अंग्रेजी शब्द, गीत , गणित र विज्ञानका फर्मुला घोक्न लगाउन्छन । प्रकृति संगको स्पर्श, चरित्र निर्माण, बाल स्वभाव अनुकूलको खेल र संस्कारको विकास ,जिज्ञासु बनाउने उपायको खोजी, मूर्त र आकर्षक शिक्षण सामग्रीको खोज र प्रयोग गरेर शिक्षालाई सरल व्यावहारिक र आकर्षक बनाउने शिक्षण विधिको प्रयोग गरि शिक्षा प्रदान गर्ने विद्यालयनै राम्रा विद्यालय हुन ।
बढी ज्ञान दिने नाममा पाठ्यक्रम ले तोकेको उमेर , तह र आवश्यक्ता को सीमा भन्दा बाहिर गएर , जटिल भाषाको प्रयोग गरेर, बालकलाई अति कठोर नियन्त्रणमा राखेर तपाईको बच्चालाई विद्यालयले मेसीनमा त परिणत गर्न खोजेको त छैन रु आजको समयमा अभिभावकले चनाखो हुन जरूरी छ । विद्यालय को वातावरण , कक्षा कोठाहरुको अवस्था र पर्याप्तता , शिक्षकको पर्याप्तता, योग्यता र तालिम , पुस्तकालय,प्रयोगशाला , अडियो भिजुअल कक्षाको व्यवस्था, शौचालयको उचित व्यवस्था, शुद्ध पिउने पानीको प्रबन्ध, नियमित पाठ्यान्तर र अतिरिक्त कृयाकलाप को अवस्था सही र ठीक भएको ठम्याई भएमा मात्र आफ्नो बालक विद्यालयलाई दिनोस ।
सरस्वती पूजामा दिइएको भर्ना शुल्क मिनाहीको साथै विद्यालयले अन्य शीर्षकमा बढी पैसा असुल्न खोजेको त छैन भनी चनाखो पूर्वक आफ्नो नानिको अक्षरारम्भ गराउनु होस् । श्री पञ्चमीको हार्दिक बधाई र मंगलमय शुभकामना ।
लेखकः सेवानिवृत शिक्षक हुन् र उपाध्यक्ष नेपाल निवृत्त शिक्षक समाज राष्ट्रिय कार्यसमिति÷संयोजक नेपाल निवृत शिक्षक समाज, सुदूरपश्चिम प्रदेश कार्यसमिति मा कार्यरत हुनुहुन्छ ।