संघसंस्थाका कार्यक्रम बारे छलफल

टीकापुर, ३१ भाद्र/टीकापुर नगरपालिका क्षेत्रभित्र कार्यक्रम सञ्चालन गर्दै आइरहेका गैर सरकारी संघसंस्थाहरुसँग छलफल भएको छ ।
नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा संघ संस्थाका प्रतिनिधिले नगरपालिका भित्र सञ्चालन भइरहेका कार्य र चालु वर्षमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिएका छन् । कार्यक्रममा द एसिया फाउण्डेशनका यज्ञमान सेठ्ठीले संघसंस्था पालिकाका विकास साझेदार हुन् भनी सहकार्य गरिदिन आग्रह गर्नुभयो ।
दीगो विकास समाजका परियोजना अधिकृत विनोद शाह टीकापुरमा कृषि तर्फ कृषक समूह गठन गरेर जिविकोपार्जनका क्रियाकलाप, गैर कृषि अन्र्तगत व्यवसाय सञ्चालन मा सघाएका बताउनुभयो ।


उज्यालो बहुउद्देश्य सहकारी संस्थामा रहेर सूचकांक का आधारमा बाढी बिमा कार्यक्रमका संयोजक हेमन्तराज जोशी तटीय क्षेत्रमा बाढी बिमा लागू भएको यस वर्ष १२३ घरधुरी बिमा गरेका बताउनु भयो ।
बाल कल्याण संघ टीकापुरका अनुगमन तथा मूल्यांकन अधिकृत मिठ्ठु बहादुर हुड्केले गुणस्तरीय शिक्षा, बाल संरक्षण,नारी परियोजना लगायतका कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
प्राक्टिकल एक्सनका नेपाल बाढी उत्थान परियोजनाका रमेश गौतम ले कर्णाली जलाधार क्षेत्र अन्र्तगत टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा काम गर्दै आएको बताउँदै समुदायलाई बाढीका असर कसरी घटाउने भनी सचेत गराउने, समुदायलाई जिविकोपार्जन का लागि क्षमता विकास गर्ने, उच्च घर, उच्च धारा निर्माण लगायतका कार्यमा सघाउँदै आएका बताउनु भयो ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले टीकापुरमा बाढीबाट हुनसक्ने क्षति न्यून गर्न, बाढीसँगै जीवनयापन सहज बनाउन सघाउँदै आएको र पूर्व तयारीका बताउनुभयो ।
संघ संस्थाका प्रस्तुतीपछि कार्यक्रममा बोल्दै नगरपालिका का जनप्रतिनिधि तथा शाखा प्रमुखले कार्यक्रम गर्दा समन्वय हुनुपर्ने, विषयगत शाखा प्रमुखहरुले कार्यक्रमबारे पूर्व जानकारी दिनुपर्ने बताउनु भएको छ ।
नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले संघ संस्थाले योजना तर्जुमा गर्ने र पालिकाले तर्जुमा गर्ने समय फरकफरक हुने हुँदा पनि केही समस्या भएको बताउनुभयो । उहाँले संघसंस्थाका योजना बिकेन्द्रीत तथा साना साना भएका बताउँदै आउँदा दिनमा ठोसरुपमा ल्याउन आवश्यक रहेका बताउनुभयो ।
वडा नं। ८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्लाले संघसंस्थाले योजना छनौट गर्दा स्थानीय जनप्रतिनिधि तथा वडासँग समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।
राजश्व शाखा प्रमुख दिला जोशीले संघसंस्थालाई सूचिकृत हुन, आफूले पनि राजश्व तिर्न, सम्पत्ती कर, घरबहाल कर अनिवार्य तिर्न आग्रह गर्नुभयो ।
शिक्षा शाखाका प्राविधिक सहायक विना पौडेलले संघसंस्थाले अन्य क्षेत्रमा साझेदारी गरे पनि शिक्षा शाखासँग साझेदारीमा कार्यक्रम नगरेकाले आउँदा दिनमा शिक्षातर्फका कार्यक्रम समेत गर्न सुझाव दिनुभयो ।
नगर प्रमुख रामलाल डगौरा थारुले संघसंस्थाले गरेका कार्य राम्रा रहेका बताउँदै उहाँले काम गर्दा परिणाम देखिने गरी काम गर्न सुझाव दिनुभयो । उहाँले सरकारको काममा सहयोग पुगेको बताउँदै काम दोहोरिने गरी नगर्न सुझाव दिनुभयो ।
टीकापुर नगरपालिकामा १८ वडा संघसंस्थाले काम गरिरहेका छन् । पालिकाले गर्ने कार्यक्रम र संघसस्थाका कार्यक्रम एउटै खाले नहुन् र एउटै खाले भएमा संँगै सहकार्य गरेर गर्न सकिन्छ भन्दै नगरपालिकाले यो बैठक राखेको हो ।
कार्यक्रममा कानून शाखा प्रमुख केशरबहादुर थापा, आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसी, कृषि शाखाका रविना चौधरी लगायतले सुझाव दिनु भएको थियो ।
कार्यक्रम संघसंस्था समन्वय शाखा प्रमुख अमृता रावलले सञ्चालन गर्नुभएको थियो ।