संघिय बजेट सदुपयोग गरौं

सम्पादकीय
टीकापुरमा यस बर्ष करिब १६ करोड रुपैयाँ संघिय बजेट आएको देखिन्छ । संघिय सांसदले ५ करोडको योजना पाउँदा यसबर्ष टीकापुरमा बजेट परेको छ । बजेट पर्नुमात्र ठूलो कुरा होइन त्यसको सदुपयोग पनि मुख्य कुरा हो । परेको बजेट सही सदुपयोग हुन स्थानीय राजनीतिक दल र सामाजिक अगुवा सचेत हुन जरुरी छ । नागरिकले आफ्नो वडा या घर आँगनमा निर्माणको हुने विकास योजनाका बारेमा साउन महिना देखि सचेत हुन थाल्नुपर्छ । आएको बजेट भ्रष्टाचारी का हातमा पर्छ की भन्ने डर हुन्छ । प्राबिधिक कर्मचारीले बजेट दुरुपयोग गर्ने गरेका छन् भने स्थानीय भ्रष्टहरुले साथ दिने गरेका छन् यो हाम्रो नेपाली समाजको पछिल्लो समयको टूेन हो । आएको बजेट अधिकतम सदुपयोग गर्ने सवालमा नागरिक अगुवा चनाखो हुनुपर्छ । भ्रष्ट र बद्नाम व्यक्तिहरु पनि पार्टीका आडमा सामाजिक अगुवा कहलिएका छन् । पार्टीका आडमा जन्मिएका भ्रष्ट समाजसेवीहरुलाई विकाससंग केही लेनादेना छैन । भ्रष्टहरुलाई आफ्नो स्वार्थ पूरा गर्नुमात्र छ । एकातिर सामाजिक अगुवाको अवस्था यस्तो छ अर्काेतर्फ नगरपालिकाले पनि राम्रोसंग काम गर्न सकेको छैन । नगरपालिकासंग ठोस योजना छैन । योजना ल्याएपनि त्यसको असर र जनताले पाउने सुबिधाको बारेमा समिक्षा गर्नुभन्दा आफुलाई कति आउछ भन्ने हिसाव गरेको पाइन्छ । नगरपालिकाले संघिय सांसदबाट आएको बजेटका बारेमा अध्ययन गरेर कार्यान्वयन गर्न जरुरी छ । नगरमा आएको बजेट पूरा सदुपयोग होस् भनेर जनप्रतिनीधि र प्राबिधिक कर्मचारीले योजना बनाएर काम गर्नुपर्छ । टीकापुर नगरपालिकामा कालोपत्रे सडक बाहेक केही कार्यक्रम छैनन् । सिकलसेल अस्पताल,पार्कमा प्रधानमन्त्री र मुख्यमन्त्री बिश्राम बाटिका भनेर योजना छनौट नगरपालिकाले गरेको छ । अस्पताल सञ्चालन गर्नुभन्दा पहिला भएका अस्पतालको बारेमा अध्धयन गर्नुपर्ने थियो । अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र व्यबस्थापनमा लाग्ने खर्चका बारेमा अध्ययन गर्नुपर्छ । हचुवाका भरमा योजना देखाउने प्रचलनले बजेट दुरुपयोग हुन्छ । नागरिकले गास काटेर तिरेको करलाई अधिकतम सुदुपयोग हुने योजना छनौट गर्नुको साटो हचुवाका भरमा योजना ल्याउने काम बन्द गर्नुपर्छ । तसर्थ आएको बजेट सदुपयोग गर्ने सवलामा सबै सचेत हुन जरुरी छ ।