सम्पादकीय
नेपालका राजनीतिक दल जनतालाई ठग्ने काममा व्यस्त छन् । प्रजातन्त्रका लागि लड्यौ भने केहीले गणतन्त्र ल्याउन जनयुद्ध ग¥यौ भनेर भाषण गर्दैछन् तर यतिखेर जनता साच्चिकै निरास छन् । प्रजातन्त्र र गणतन्त्रका लागि लडेका इमान्दार नेता र कार्यकर्ता यतिखेर निरास छन् भने अर्काे तर्फ केही नेता र कार्यकर्ता राज्य दोहनमा व्यस्त छन् । नेतृत्वले देखाएको व्यबहारले इमान्दार नेता र कार्यकर्ता यतिखेर गलत भयो भन्न थालेका छन् । पार्टीमा लगानी गरेका इमान्दार नेता र कार्यकर्ता ओझेलमा परेका छन् । भ्रष्ट र माफिया पार्टीमा हाबी भएपछि जनताको काम हुने कुरै भएन । देश र जनताको पक्षमा काम गर्नु भन्दा पनि कहाँबाट कमाउन सकिन्छ भन्ने मानसिकता पालेर काम गरेको पाइन्छ । मुलुकको अर्थतन्त्र कमजोर भएको छ तर नेताहरु सत्ता स्वार्थमा छन् । यतिखेर आउँदो आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम बारे संसदमा बहस भइरहेको छ । नीति तथा कार्यक्रमले बजेटको निर्देशन गर्छ भन्ने प्रचलन छ । नागरिकको जीवन कस्तो बनाउँने भन्ने बारेमा बहस हुनुको साटो एक अर्काको दोलो काढ्ने काम भइरहेको छ । संसदमा को बढी क्रान्तिकारी या बोल्न सिपालू छ भन्ने झै गरी बोल्न होडवाजी चलिरहेको छ । संसदमा भ्रष्टाचारका कुरा उठे तर प्रश्न उठेका बिषयमा गम्भिरता देखिएन । भ्रष्टाचारका बिषयमा कुरा उठेपछि यसरी छानविन गरौं भन्ने कुरा स्वयम प्रधानमन्त्रीबाट आएन । प्रधानमन्त्री आफ्नो सत्ता जोगाउनमा लागेका छन् । संसदको तेस्रो शक्ती सत्तामा छ यस्तो अपवित्र खेलमा लागेका प्रचण्डबाट जनताले धेरै आशा गरेका छैनन् । भुटानी सरणार्थी प्रकरणमा प्रचण्डले आफ्नो साख बचाउने प्रयास गरेपनि स्वयम प्रचण्ड नै छानविनका बाधक हुन् भनेर सबैले बुझ्न जरुरी छ । जो आफै बिभिन्न काण्डमा फसेको छ उसैबाट निस्पक्ष छानविन हुन्छ भनेर आशा गर्नु गलत हो । तसर्थ यतिखेर संसदमा देखिएको दृष्यले नागरिकलाई निरास बनाउँने काम भएको छ । जनता सचेत हुन जरुरी छ । मनपरीतन्त्र कतिञ्जेल सहने ? नागरिक सडकमा आउन जरुरी छ ।