संस्थामा निर्बाचनका लागि मात्र महत्व

सम्पादकीय
टीकापुरका संघ संस्थामा सदस्यहरुले बेवास्ता गर्दा संस्थाको गरिमा घट्न थालेको छ भने संस्थामा जानेहरुले मनपरी गर्न थालेका छन् । शुक्रवार टीकापुर उद्योग बाणिज्य संघको चुनावी साधारणसभा थियो गर्णपुरक संख्या पुगेन । शनिबार सामुदायिक पुस्तकालयको चुनावी साधारणसभा थियो त्यहा पनि गर्णपुरक संख्या पुगेन । उद्योग बाणिज्य संघमा ११ सय बढी सदस्य छन् भने पुस्तकालयमा ८ सय बढी आजीवन सदस्य छन् । यति संख्यामा सदस्यहरु भएपनि साधारणसभाको रजिस्टरमा उपस्थिती जनाउने संख्या जति भएपनि कार्यक्रममा सहभागि अति न्यून देखिन्थे । उद्योग बाणिज्य संघमा ५०/६० जना थिए भने पुस्तकालयमा सय जना जति उपस्थित थिए । उद्योग बाणिज्य संघको साधारणभा उद्घाटन गर्न महासंघका पूर्ब अध्यक्ष चण्डिराज ढकाल आउनुभएको थियो भने पुस्तकालयको साधारणसभा उद्घाटन गर्न प्रदेश प्रमुख देबराज जोशी आउनुभएको थियो । बाहिरबाट प्रमुख अतिथी निम्ता गर्ने अनी सहभागि कोही नहुने भएपछि संघ संस्थाको अवस्था कस्तो छ भन्ने प्रष्ट हुन्छ । नागरिकलाई संघ संस्थामा बस्ने व्यक्तिहरुको व्यबहार मन नपरेकै कारण कार्यक्रममा जान छाडे । कार्यक्रम भयो भने कसलाई आसन ग्रहण गर्ने र सम्मान गर्ने अनी कसको मान मर्दन गर्ने योजना अनुसार काम हुन्छ । संघ संस्थामा पारदर्शीता कहि देख्न पाइदैन । संघ संस्थाको निर्बाचन हुने बेला हानथाप गर्ने अनी निर्बाचित भएपछि पुरै कार्यकाल सुतेर बस्ने प्रबृति मौलाएको छ । पछिल्लो समय संघ संस्थाका नाममा बजेट माग्ने र काम देखाउने प्रचलन बढेको छ । बजेट आवश्यक्ता भन्दा पनि काम गरेपछि केही हात पर्छ भन्ने सोच पालेर काम गर्दा आपसमा लडाई भइरहेको छ । संस्थाको अवस्था खस्किएको हो या राम्रो भएको हो भन्ने बारेमा साधारणसभामा बहस छलफल हुनेपर्ने हो तर साधारणसभामा तैचुपमैचुप गर्ने चलन छ । यसरी नागरिकको उदाशिनताले संघ संस्था कमजोर बन्दै गएका छन् भने संस्थामा के जिम्मेवारी निभाउनुपर्छ भन्ने बारेमा केही सोचेको पाइदैन । केवल पद चाहियो भन्ने सोचले टीकापुरमा द्वन्द बढ्दै गएको छ । तसर्थ आम नागरिक सचेत हुन जरुरी छ । निर्बाचन भन्ने बित्तिकै कसैको दारु मासुको जोहो गर्ने बानी बसेको छ यसमा पनि नागरिक सचेत हुनुपर्छ । संघ संस्थामा प्रतिनीधित्व गर्न के का लागि दारु मासु खुवाउने ? यसमा सबै सचेत हुन जरुरी छ ।