टीकापुर, १९ माघ/सत्ती कर्णाली सामुदायिक वनको नयाँ नेृतत्व चयनका लागि २० गते निर्वाचन हुने भएको छ । सामुदायिक वनको ३० औँ साधारण सभामा नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा शेरबहादुर ठकुल्ला र जीतराम चौधरी फरक फरक प्यानल बनाएर मैदानमा उत्रिएका छन् । १५ सदस्यीय वन समितिको सचिव र दुई जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । सचिवमा रामकृष्ण चौधरी, सदस्यमा प्रेमलाल चौधरी, जानकी चौधरी निर्विरोध चयन हुनुभएको निर्वाचन समितिका संयोजक विरेन्द्र शाहले जानकारी दिनुभयो ।
शेरबहादुर ठकुल्ला प्यानलको उपाध्यक्षमा कला धामी चलाउने, सह सचिवमा ओमलाल सुनार, कोषाध्यक्ष राधाकुमारी जिसी चुनावी मैदानमा हुनु हुन्छ । ठकुल्ला प्यानलबाट सदस्यमा नन्दादेवी साउँद, सारदादेवी स्वाँर, भीम बहादुर चौधरी, सेतबहादुर साउँद, चेतना नेपाली, गंगादेवी विक, मंगलबहादुर पुनः मोसिया डगौरा थारु रहनुभएको छ ।
त्यसैगरी अध्यक्ष पदका उम्मेदवार जीतराम चौधरीको प्यानलबाट उपाध्यक्षमा मञ्जु चौधरी, सह सचिवमा मोहनबहादुर रावल, कोषाध्यक्षमा अस्मीता ठकुल्ला मैदानमा हुनुहुन्छ ।
चौधरी प्यालनबाट सदस्यमा रमेश वादी, झरना दमाइ, फुलकुमारी चौधरी, दिलकुमारी घर्तीमगर, साधुराम चौधरी, गायत्री स्वाँर, सन्तोष नेपाली, जसुदेवी विष्ट निर्वाचनमा होमिनु भएको छ ।
ठकुल्लाले समावेसी प्यानलको नेतृत्व गर्नुभएको छ भने चौधरीले माओवादी पार्टीको नेतृत्व गर्दै निर्बाचनमा होमिनु भएको छ । चौधरी टीकापुर ८ सूर्यपुर बिद्यालयको अध्यक्ष हुँदा बिबाद गरेर संस्थालाई गति दिन नसकेको भन्दै स्थानीयमा असुन्तुष्टि छ । उसो त सामुदायिक वनमा निवर्तमान अध्यक्ष धनसिंह साउँद पुनःअध्यक्षमा आउने चाहना थियो । दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन नपाउने वनको नियमले रोक लगाएको हो । यसरी रोक लगाएपनि साउँदले माघ २ गते अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको थियो भने समावेसी प्यानलबाट प्रांकुश चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको थियो । दर्ता नभएको वनमा चौधरी अध्यक्ष भएको बिषयमा माओवादीले बखेडा झिकेपछि निर्बाचन रोकिएको हो । साउँदको नियमले नमिल्ने भएपनि चौधरीको उम्मेदवारीमा समस्या थिएन तर निर्बाचन समितिले ठोस निर्णय दिन नसक्दा नेतृत्व चयनले बिबादको रुप लियो । यसरी बिवादलाई साम्य पार्न साउँद र चौधरी दुबैको उम्मेदवार हटाई नयाँ अध्यक्षका उम्मेदवार बनाउने सहमति भएपछि २० गते निर्बाचन हुन लागेको हो । मेरो सवालमा खासै समस्या थिएन,व्यक्तिलाई देखाएर अनिर्णयको बन्दी बनाउनुभन्दा सहमतिमा गएर निर्बाचनमा जान थालेको प्राकुंश चौधरीले बताउनुभयो । उहाँले ठकुल्ला प्यानलाई स्थानीय सबैको सहयोग भएको पनि बताउनुभयो ।
स्वर्गिय मोहन बहादुर रावलको नेतृत्वमा कर्णाली बगरलाई बेत बनमा परिणत गर्ने काम भएको हो । शुरुका दिनमा स्थानीयले वन संरक्षणमा ठूलो लगानी गरेका थिए । एकताका वनले त्यस क्षेत्रका शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गर्नुको साथै एम्बुलेन्स र टे«क्टर सेवा प्रदान गर्दै आएको थियो भने सामुदायिक सहकारी वनकै आडमा जन्मेको हो । पछिल्लो समय वेत बिकृबाट आम्दानी बढेसंगै नेतृत्वका लागि हानथाप हुन थालेको स्थानीयको भनाई छ । सामुदायिक वनमा १२ सय उपभोक्ता भएपनि नविकरण गरेका करिब एक हजार उपभोक्ता मात्र साधारणसभामा सहभागि भएका छन् ।