टीकापुर, ११ पौष/इसाई धर्मावलम्बीको महान् चाड क्रिसमस बुधबार देशैभरिका चर्चमा कार्यक्रम गरी मनाइएको छ ।
क्रिसमस डेको अवसरमा विभिन्न ठाउँमा शुभकामना आदानप्रदान तथा उपहार आदान प्रदान कार्यक्रम भएका छन् । टीकापुर र आसपासका चर्चहरुमा समेत कार्यक्रम भएका छन् ।
क्रिसमस पर्वको अवसरमा प्रशंसा चर्च टीकापुर ५ शाहीपुरमा कार्यक्रम भएको छ ।
पास्टर प्रेम विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य ललिता सुनारले चर्चका लागि बजेट हालेको बताउँदै धर्म निरपेक्ष देश भएकाले सबै धर्मको अस्तीत्व स्वीकार गर्नुपर्ने बताउनु भयो ।
उहाँले नेपालीले शान्ति चाहेका, शान्ति भए मात्र देश विकास हुने बताउँदै नेपाली काँग्रेसले सबै धर्मको रक्षा गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष बलबिर थारु चर्चको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्ष बजेट व्यवस्था गरिदिने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले समेत शुभकामना दिनुभएको थियो । त्यसैगरी टीकापुरमा रहेका अन्य चर्चमा समेत कार्यक्रम भएका छन् ।