समस्या बल्झाउने नै समाजसेवी

सम्पदकीय
नेपाली समाजमा बेरोजगारहरुको भिड छ । बेरोजगार युवाहरुको सपना समाजसेवा गर्नु रहेको छ । समाजसेवाका नाममा करबाट आएको बजेट कसरी हातपार्न सकिन्छ भन्नेमा धेरैको ध्यान हुन्छ । बेरोजगार हुने र मौका पायो की लुट्न थालिहाल्छन् । यसरी लुट्ने क्रममा आपसमा द्वन्द हुनु स्वभाविकै हो । सबै युवाहरु लुट्नुपर्छ भन्नेमा हुँदैनन् । इमान्दार भएर समाजसेवा गरौं भन्ने यवाहरु पनि छन् । यस्तो सोच भएका युवाहरुलाई पछि धकेल्ने प्रयास हुने गरेको छ । नेपाली समाजमा भ्रष्टहरुको रजगज भएपछि समुदायमा अबिश्वास बढ्न थालेको कुरा मनन् गरेको पाइदैन । बद्नाम पात्रहरुकै कारण समुदाय स्तरमा अबिश्वास बढ्न थालेको देखिन्छ । यसरी अबिश्वास बढ्दै जाँदा विकासका सवालमा पनि समस्या हुन थालेको छ । विकास बजेट खाएर समाजसेवी भन्न रुचाउनेहरु हाबी भएपछि नागरिक निरास छन् । यस्तो प्रबृत्ति बढ्दै गएपछि काम गरेर खानुपर्छ भन्ने सोच पालेका युवाहरु बिदेश जाने हतारमा छन् । यही हतारका कारण दुईजनाले ज्यान गुमाउनु प¥यो । काम गरेर खान्छौ भनेर परिक्षा दिन पाउँ भन्दा राज्य सहयोगि हुनुको साटो गोली र बन्दुकको कुन्दाले हिर्काउछ । यस्तो अवस्थामा गणतन्त्र भजाएर खान पल्केकाहरुलाई नागरिकले लखेट्न जरुरी छ । गणतन्त्रले नेपाली नागरिकको जीवनमा समस्या थप्दै गएको महशुस हुनुको कारण भ्रष्टहरु नै हुन् । राजनीति गर्नेहरु हुन् या सामाजिक काम गर्नेहरु हुन् नागरिकका नजरमा सबै बद्मास हुन् भन्ने छ । समाजमा राम्रा मान्छे पनि छन् तर राम्रा मान्छेलाई नेतृत्व लिन दिदैनन् र हरेक पार्टीमा इमान्दार कार्यकर्ता पछि पारिएका छन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ । गलत मान्छेलाई समाजमा स्थापित गर्ने प्रचलन हटाउन जरुरी छ । सामाजिक बहिस्कार गर्नुपर्ने मान्छेलाई सामाजिक नेतृत्व दिदै गयौं भने समस्या बल्झिदै जाने निश्चित हो । यसमा सबैको ध्यान जान जरुरी छ ।