सर्प, सर्पदंश तथा सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण कार्यक्रम

टीकापुर, १२ असार/टीकापुरमा सर्प, सर्पदंश तथा सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण भएको छ । शिक्षकहरुलाई दिइएको अभिमुखिकरणमा लामो समयदेखि सर्पको उद्दार कार्यमा खटिरहनु भएका उद्दारकर्ता लक्ष्मण उपाध्याय ले विश्वमा हरेक वर्ष ५५ लाख मानिसलाई सर्पले टोक्ने गरेको र जसमा २० हजार मानिसको ज्यान जाने गरेको तथ्यांक रहेको बताउनुभयो ।
उपाध्यायले नेपालमा हरेक वर्ष ४० हजार मानिसलाई सर्पले टोक्ने गरेको र ३ हजारको बर्सेनि ज्यान जाने गरेकाले सर्तकता आवश्यक रहेको बताउनुभयो ।
सर्पको टोकाइबाट मृत्यु हुनेमा तराइका मानिस बढी हुने र कृषिमा आधारित परिवार बढी प्रभावित भइरहेका बताउनुभयो । सर्प सबै बिषालु नहुने बताउँदै विषालु सर्पका पनि कोही टोकाइ कम बिषालु र कोही टोकाइ बढी बिषालु हुने गरेकाले सुख्खा टोकाइले विष नलाग्ने, भिजेको टोकाइले विस लाग्ने बताउनु भयो । यहाँ कोबरा करेत सर्पले टोक्दा ज्यान जाने जोखिम बढी रहेको उहाँको भनाई छ ।
विषालु सर्पको ठूलो दात हुने भएकाले सर्पले टोकिहालेमा घाउ हेरेर, सर्प हेरेर थाहा पाउन सकिने भएकाले सर्प चिन्न बढी आवश्यक रहेकोमा जोड दिनुभयो । उपाध्याय ले कैलाली सहित देशका विभिन्न जिल्लामा सर्पको उद्दार गर्दै आउनुभएको छ । सर्पलाई मार्न नहुने तर उद्दार गर्नुपर्ने बताउने उहाँले अहिलेसम्म ५७८ सर्पको उद्दार गर्नुभएको छ ।


उपप्रमुख खडकबहादुर शाहले तराई क्षेत्रमा सर्पको बिगबिगी हुने समय वर्षातको समय हुने भएकाले नागरिकले आवश्यक साबधानी अपनाउनु पर्ने बताउनुभयो । उहाँले बालबालिकालाई समेत सर्पदंश बारे जानकारी दिने,सचेत गराउने, बच्न सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।
शिक्षिका माया पोखरेलले अभिमुखिकरण मा सर्प र सर्पदंशबारे धेरै जानकारी भएकाले बालबालिका लाई सिकाउन सहज हुने बताउनुभयो ।
शिक्षक ब्रदीप्रसाद भट्टराईले शिक्षकले सिकेका कुरा विद्यालय मा सिकाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम निर्मला चौधरीले सञ्चालन गर्नुुभएको थियो ।