सम्पादकीय
एकातिर सरकारले दुई अर्बको ऋण उठाउँदै छ अर्काे तर्फ राज्यले विकास बजेटको रकम निकासा दिने अवस्था छैन । उता आर्थिक बर्ष २०७९/०८० को १० महिनामा साढे ६ लाख नेपाली बिदेश काम गर्न गएका छन् । काम गर्ने जनशक्ती विदेश जाने अनी सरकार कर्मचारीलाई तलव खुवाउन ऋण लिने भएपछि मुलुकको अवस्था कस्तो छ भन्ने प्रष्ट हुन्छ । आर्थिक प्रगती गर्न विकास बजेट खर्च नगरेर हुँदैन । विकास बजेट खर्च गर्न नसक्ने अनी नेपालीहरु श्रम बिक्री गर्न बिदेश जाने नीति नै नेपालको समस्या हो । विकास बजेट खर्च गर्ने योजना बनाएको भए श्रम बिक्री गर्न जानुपर्ने थिएन । नागरिकले आफ्नै मुलुकमा अवसर पाएको भए बिदेश जानुपर्दैन थियो । अर्काको देशको विकास गर्न नेपाली जनशक्ती प्रयोग भइरहेको कुरा बुझ्न गाहे छैन तर सत्तामा बसेका नेताहरु रोजगार सृजना गर्ने सवालमा गम्भिर छैनन् । आफ्ना देशको महत्वपूर्ण उद्योग बिक्री गर्ने र लथालिङ्ग पार्ने अनी सबै उपभोग्य सामान बिदेशबाट मगाउँने नीतिले देशको अर्थतन्त्र बलियो हुने कुरै भएन । कृषि उत्पादन बढाउन सक्ने नीति नबाउने नेतृत्वले औद्योगिक उत्पादन बढाउने नीति बनाउन सक्ने कुरै भएन । कृषि उत्पादन बढाए मात्र पनि धेरै हद सम्म आर्थिक बलियो हुन्छ । हरेक क्षेत्रमा राजनीति गर्दा देशको अवस्था जरजर भयो । बिद्युत उत्पादनमा राजनीति नगरेको भएपनि देश धेरै अघि बढिसक्ने थियो । देश बनाउँने सावलमा नेताहरु गम्भिर छैनन् । सत्तामा बसेर देश लुट्न पल्केकाहरुलाई तह लगाउन जरुरी छ । सत्तामा बसेर ऋण लिन सजिलो होला तर नेपाली नागरिकको जीवन सुधार गर्न गाहे हुन्छ । नागरिकको जीवन सुधार्न उत्पादनमा ध्यान दिनुपर्छ भने विकास निर्माणमा बजेट खर्च गर्दा त्यसबाट हुने आम्दानीका बारेमा पनि ध्यान दिन जरुरी छ । राजनीतिक दल समयमै गम्भिर हुन जरुरी छ ।