सानो व्यवसाय भरपर्दो सहारा

एकिन्द्र तिमिल्सेना
टीकापुर, ३२ साउन/टीकापुर नगरपालिका–६ बेलुवा चौराहा स्थित सत्ती रोडमा रुखमूनि फलफूलको ठेला छ । ठेलामा स्याउ, केरा अनार, बिस्कुट राखिएका छन् । ठेलामा फलफूल बेच्ने व्यापारी हुन टीकापुर–५ लक्षिनापुरकी रामकृष्णी चौधरी ।
रामकृष्णीले बेलुवा चौकमा ठेलामा फलफूल राखेर बेच्न थालेको एक दशक नाघेको छ । रामकृष्णी भन्छिन ‘ठेला व्यवसाय शुरु गर्नुका पछाडि धेरै कारण छन् तर दैनिक कमाइ नगरे गुजारा नहुने परिवार छ, त्यसैमा स्वास्थ्यमा समस्या आयो, गुजाराका सहज उपाय खोज्ने क्रममा ठेला व्यवसाय शुरु गरेँ ।’
रामकृष्णीको लक्षिनापुरमा ३ कठ्ठा घरबास छ, तीन जनाको परिवार छ । उनले परिवारको खाना खर्च छोरीको पढाइ खर्च जुटाउनु पर्छ । रामकृष्णीका श्रीमान् कहिले भारत त कहिले गाउँमै फर्केर मजदूरी गर्छन अहिले भारतको लद्दाखमा छन् । कक्षा १२ पढ्दै गरेकी छोरीको अभिभावक भएर घर हेर्नु र परिवारको दैनिक खाना खर्च गुजारा जुटाउन रामकृष्णीकै भर छ । बेला बेला आउने श्रीमान्को कमाइले भैपरी आउने अन्य खर्चको गर्जो टार्नुपर्छ । सडकमा व्यापार गर्दा मौसमले सताउछ । खुला बेच्नुपर्दा फलफूल पनि बिग्रिन्छ ।

यसका साथै कहिले हुरी त कहिले मानिसहरुले पनि ठेला फाल्दिने गरेका छन् । एक दशकदेखि ठेलामा गरेको रामकृष्णी को व्यापारले घरखर्च मात्रै धानेको छैन सहकारीमा दैनिक ३०० वचत पनि गर्ने गरेकी छिन् । २०८० माघमा कसैले राति ठेला पल्टाएर भाँचिदियो । टुटेको ठेला जोडेर चलाएको गत जेठमा हुरीले उडाइ दिएपछि समस्या भएको थियो । व्यक्तिगत रुपमा ठेला बनाउन २५ हजार जति लाग्ने भएपछि तनाव मा दिगो विकास समाज भजनीले २० हजार लगानी एउटा नयाँ ठेला उपलब्ध गराएपछि राहात भएको र व्यवसाय पनि निरन्तर चलेको रामकृष्णी बताउछिन । दैनिक एक हजारदेखि सिजनमा दश हजारसम्म बिक्री हुने फलफूल व्यवसायले रामकृष्णीलाई दैनिक ज्याला मजदूरी गरे सरहको कमाइ भैरहेको छ । १२ कक्षा पढेकी छोरी को उच्च शिक्षाका लागि पनि श्रीमान् श्रीमतीले श्रम गर्ने पर्नेछ । श्रीमान ज्याला मजदूरी गर्ने र आफ्नो स्वास्थ्यमा पनि समस्या भएकाले गह्रुङ्गो काम गर्न कठीन भएकाले ठेला व्यवसाय कमाइको सहारा भएको बताउछिन ।
रोडमा कुरेर व्यापार गर्नु सजिलो त छ छैन तर एक दशक बिताएकी रामकृष्णीलाई अब सजिलै लाग्न थालेको छ । स्थानीय गणेश क्षेत्री मिहिनेत गरे सानै लगानीमा जिविकोपार्जनका लागि आयआर्जन गर्न सकिने बताउनु हुन्छ । क्षेत्री भन्नुहुन्छ, ‘दुःख त छ, चोकमा भएकाले बिक्री पनि छ, दैनिक वचत पनि गर्नुहुन्छ ।’
सडक व्यापार उपभोक्ता स्वास्थ्यका दृष्टिले राम्रो त मानिदैन तर बजार बिस्तार नभएको र व्यवसाय गर्ने अर्को विकल्प नहुञ्जेल रामकृष्णी जस्ता कयौंको जिविकोपार्जन सडक व्यापारले गरेको छ ।