साहित्य समाजको अध्यक्षमा महेश विक्रम शाह

टीकापुर, १४ जेठ / टीकापुर साहित्य समाजको प्रथम साधारण सभाले अध्यक्षमा महेश विक्रम शाहलाई चयन गरेको छ । शनिबार टीकापुरमा भएको सभाले उपाध्यक्षमा हिक्मत थापा, सचिवमा बावु देवकोटा, सह–सचिवमा चक्रचन्द सोडारी, कोषाध्यक्षमा रजनी शाहीलाई चयन गरेको हो ।
सदस्यमा शंकर तिरुवा, भरत भण्डारी, निलम चौधरी, चन्द्रा भट्टराईलाई चयन गरेको निर्वाचन अधिकृत भिमराम चपाईले जानकारी दिनुभयो ।


यसअघि टीकापुर साहित्य समाजको गएको माघ महिनामा मशेह विक्रम शाहकै संयोजकत्व मा तदर्थ समिति गठन भएको थियो । तदर्थ समिति गठन भएको ६ महिना भित्रमा साधारणसभा गरिसक्नु पर्ने प्राबधान अनुसार पहिलो साधारणसभा गरिएको समाजले जनाएको छ ।
साधारण सभाको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले साहित्य समाज लाई योजना बनाएर काम गर्न सुझाव दिनु भएको छ । अध्यक्ष चौधरीले सासफेर्न वाहेक अन्य काम गर्दा योजना आवश्यक हुने भएकाले यो साहित्य समाजले जुनसुकै काम गर्दा योजना बनाएर गरेपछि राम्रो हुने बताउनु भयो ।
साधारण सभामा चैत्र २५, २६ र २७ गते भएको टीकापुर साहित्य महोत्सवको आम्दानी र खर्च पनि सार्वजनिक गरिएको छ । साहित्य महोत्सवमा ३२ लाख, ६६ हजार आम्दानी भएको र ३२ लाख ३६ हजार बराबरको खर्च भएको विबरण अध्यक्ष महेश विक्रम शाहले जानकारी गराउनुभएको थियो । आयव्यय सार्वजनिक गर्ने क्रममा शाहले लेखा प्रणालीका कारण खर्च विवरण राख्न समस्या भएको बताउनुभयो । उहाँले असल नियतले काम गरेका कारण हिसाव देखाउन समस्या भएन भन्नुभयो । उहाँले आउँदो माघ महिना साहित्य महोत्सव गर्ने तयारी रहेको पनि बताउनुभयो ।
उहाँले महोत्सवले टीकापुरको प्रतिको भावना बढाउन सफल भएको बताउनुभयो । ‘‘टीकापुरमा अपराध मात्र हुने ठाउँ रहेनछ, सृजनात्मक काम हुने ठाउँ पनि रहेछ भन्ने सन्देश गएको छ,’’ अध्यक्ष शाहले भन्नुभयो, ‘‘काम गर्दै जाने हो परिणाम राम्रो हुँदै जान्छ ।’’
अध्यक्ष शाहले साहित्य समाजको उद्देश्य नै शिक्षाको विकास गर्ने भएको हुँदा आगामी दिनमा शिक्षक र विद्यार्थीसँग मिलेर त्यहाँ भएका प्रतिभाहरुको उजागर गर्ने सोच बनाएको बताउनुभयो ।
उहाँले कुनै पनि काम गर्दा आलोचना हुनु स्वभाविक भएको र त्यसलाई प्रेरणाका रुपमा लिएर काम गर्नुपर्ने बताउनु भयो ।
साहित्यकार धनन्जय तिमिल्सिना ले टीकापुर साहित्य समाजले टीकापुरमा साहित्य महोत्सव गरेर साहित्य भनेको कविता, गजल, मुक्तक मात्र हुन् भन्ने बुझाईलाई अन्त्य गरेको बताउनु भयो ।
देवकोटा साहित्यकला परिवारका अध्यक्ष वलबहादुर रावलले शिक्षा र साहित्य विना विकास सम्भव नहुने हुँदा यी दुबैलाई संगै जोडेर लैजानुपर्ने बताउनु भयो ।
निर्मला कडायतले साहित्य संग संस्कार र संस्कृति पनि जोडिएका ले साहित्य मार्फत हाम्रो संस्कार र संस्कृति जगेर्ना गर्नमा पनि वल पुग्ने बताउनु भयो ।
धनराज अविरलले स्वागत गर्नुभएको कार्यक्रममा समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष विरेन्द्र साउँद, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, विरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्क भण्डारी, शिक्षक चक्र अधिकारी लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन सह–सचिव बावुदेवकोटाले गर्नुभएको थियो ।
साहित्य महोत्सवका लागि सुदुरपश्चिम सरकारले ९ लाख ८५ हजार, टीकापुर नगरपालिकाले ४ लाख ९३ हजार १ सय ५६, जानकी गाउँपालिकाले ४ लाख ८७ हजार ८ सय ५९, लम्की चुहा नगरपालिकाले ३५ हजार आर्थिक सहयोग गरेको आयव्यय प्रतिवेदनमा देखाइए को छ । यसैगरि पर्यटन बोर्डले १ लाख ७० हजार, बिदेशबाट सहयोग ७ लाख ८६ हजार, टीकापुरका झनकदत्त खनाल ९हिमालय बिल्डर काठमाण्डौका सञ्चालक० ले ३ लाख, र फुटकर १० हजार आम्दानी भएको जनाइएको छ ।
साहित्य समाजले आयोजना गरेको महोत्सवले नियत सफा राखेर काम गर्ने हो भने समस्या हुँदैन भन्ने सन्देश दिएको आम बुझाइ छ ।