सम्पादकीय
नेपालीहरुको संंस्कार देखावटी बढी काम कम हुन थालेको छ । आम नागरिकका बिषयमा राजनीतिक दलका नेता तथा जनप्रतिनीधिहरु गम्भिर नहुँदा विकासका सवालमा देखावटी काम गर्नुपर्ने भएको छ । जनताको वास्तविक आवश्यक्ता पहिचान गर्नुको साटो मनपरी बजेट रकम खर्च गर्ने परम्पराको विकास भइरहेको छ । नागरिकका आवश्यक्ता पहिचान गर्ने र प्राथमिकता तोक्ने बारेमा सबै एक भएर लाग्नुपर्ने भएपनि पहुँचका आधारमा विकास बाड्दा आपसमा द्वन्द बढ्दै गएको छ । टीकापुर नगरपालिकामा अहिलेका जनप्रतिनीधि आएपछि टीकापुरको सिटी बसपार्क नियमित सञ्चालन भयो । सिटी बसपार्क नियमित सञ्चालन भएपछि नागरिक खुसी भएका थिए । खड्ग चौकमा बस रोक्दा सडक दुर्घटना बढ्ने र खड्ग चौक पनि अस्तव्यस्त हुने भएपछि बस सिटी बसपार्कमा राख्दा सबैले राम्रो काम भयो भन्दै जनप्रतिनीधिको प्रशंसा गरेका थिए । सिटी बसपार्क सञ्चालन गर्दा स्यावासी पाएका जनप्रतिनीधिले सिटी बसपार्कको अवस्था बुझ्ने मौका नपाएर हो या जनप्रतिनीधि बसपार्कमा जानुपर्ने अवस्था नभएका कारणले हो सिटी बसपार्कको बिजोगका बारेमा थाहा पाएका छैनन् । सिटी बसपार्कमा एउटा बस पुग्यो भने पुरै धुलोले केही देखिदैन । बस बसपार्कमा पुगेपछि यात्रुहरु धुलाम्मे हुनुपर्छ । हिउँदमा धुलाम्मे हुनुपर्ने अनी बर्षातमा हिलाम्मे हुने । यस्तो बसपार्कमा नागरिकले भोग्नुपर्ने समस्याका बारेमा जनप्रतिनीधिले कहिले चाल पाउने हुन् ? आफुहरु सरकारी जिपमा हिँड्ने र त्यतिले नभएपछि हवाइजहाज बाट यात्रा गर्ने भएपछि आम नागरिकले यात्रा गर्ने बसपार्कको अवस्था बुझ्ने कुरै भएन । आम नागरिकका समस्याका बारेमा जनता गम्भिर भएर लाग्नु पर्छ । जनताका ठूला समस्या नगरपालिकाले गर्छ भनेर कसैले आशा गरेको छैन । तसर्थ टीकापुर नगरपालिकाका जनप्रतिनीधिले सिटी बसपार्क एक पटक अनुगमन गर्न जरुरी छ ।