सुदुरपश्चिम सरकारले ल्याएको बजेटको पक्षमा उभिन माओवादीको सांसदहरूलाई निर्देशन

टीकापुर, १९ अषाढ/नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएको छ ।
शनिबार मुख्यमन्त्री समेत रहनुभएका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षता मा मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको हो ।


बजेटमा भएका सानातिनना त्रुटी कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालयबाटै सच्याउने कुरा भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताउनुभयो ।
बैठकमा सहभागी भएका प्रदेश सभा सदस्यहरूले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर, मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बजेट पारित गर्न सहमत भएका मन्त्री धामीले बताउनु भयो ।