सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख

एकिन्द्र तिमिल्सेना
टीकापुर, २ आषाढ/सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा उक्त बजेट पेश गर्नु भएको छ ।
बजेटमा चालू तर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार (३५ प्रतिशत), पूँजीगत खर्च १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार (५५.७२ प्रतिशत), अन्तर सरकारी वित्त हस्तान्तरणमा २ अर्ब ९२ करोड ७० लाख १० हजार (९.०५ प्रतिशत), वित्तीय व्यवस्थापनमा १० करोड (०.३१ प्रतिशत) विनियोजन भएको छ ।
कुन मन्त्रालयलाई कति बजेट ?
बजेटमा प्रदेशको भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब ३५करोड ९२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । प्रदेश मातहतका कैलालीमा रहेका पथरैया सिचाई आयोजना र मोहना सिचाई आयोजनालाई बाह्रैे महिना पानी चल्ने बनाउन १२ करोड, भूमिगत सिचाईका लागि २० करोड ३४ लाख, खानेपानी तथा सरसफाइ आयोजनका लागि एक अर्ब ९२ करोड बजेट छुट्टयाएको छ ।


सामाजिक विकास मन्त्रालयका लागि ६ अर्ब ७४ करोड १८ लाख बजेट विनियोजन भएको छ । स्वास्थ्यतर्फ सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालको संंगठन व्यवस्थापन सर्भे गरिने भएको छ । सेती, महाकाली र टीकापुर अस्पतालमा सिकलसेल रोगको निशुल्क पहिचान, उपचारका लागि १ करोड ४० लाख बजेट छुट्टयाएको छ । खेलकूदतर्फ टीकापुर स्पोर्टस एकाडेमी र महेन्द्रनगर कवर्ड हलका लागि १२ करोड बजेट छुट्टयाएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३ अर्ब ९ करोड १३ लाख बजेट छुट्टयाएको छ । लम्कीचुहामा धुलो दूध उत्पादन उद्योग स्थापनाका लागि १२ करोड बजेट विनियोजन गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ४ करोड २१ लाख बजेट विनियोजन भएको छ । खप्तड बडीमालिका, शैलेश्वरी लगायतका पर्यटकीयस्थलका लागि आठ करोड र धार्मिक पर्यापर्यटनका लागि स्थानीय तहमार्फत खर्च हुने गरी २८ करोड १२ लाख बजेट विनियोजन भएको छ ।
आन्तरिक मामिला मन्त्रालयको लागि ३८ करोड ६९ लाख बजेट विनियोजन भएको छ । मूख्यमन्त्री कार्यालयका लागि ३६ करोड ४३ लाख र आर्थिक मामिला मन्त्रालय का लागि ३० करोड ९३ लाख बजेट विनियोजन भएको छ ।
चालू आव २०८०/८१ मा मा २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट थियो । चालू तर्फ ३२.७९ प्रतिशत, पूजीगततर्फ ५८.१६ प्रतिशत, अन्तरसरकारी वित्त हस्तान्तरणमा ८.०२ प्रतिशत र वित्तीय व्यवस्थापनमा १.०३ प्रतिशत विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २.२१ प्रतिशतले चालू खर्च बढेको छ ।