टीकापुर, १९ चैत्र/सुदूरपश्चिम विश्व विद्यालय अन्र्तगतका क्याम्पसहरुमा स्ववियु निर्वाचन का लागि सोमबार उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन अन्र्तगत टीकापुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, बाँकी विद्यार्थी संगठनको अर्को प्यानल गरी दुई प्यानल दर्ता भएका छन् भने स्वतन्त्रका रुपमा अध्यक्ष र सचिबले पनि उम्मेदवारी दर्ता गरेका छन् । संयुक्त प्यानलमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, नागरिक विद्यार्थी समाज, अनेरास्ववियु (एस) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन समाजवादी गरी ५ विद्यार्थी संगठन छन् ।
स्ववियु सभापतिका लागि नेविसंघका किरण साउँद र अनेरास्ववियुका गोविन्द प्रसाद भण्डारी र स्वतन्त्र देवाशिष जंग थापाको उम्मेदवारी दर्ता भएको निर्बाचन अधिकृत आत्माराम अधिकृतले जानकारी गराउनु भयो । सचिवका लागि नेविसंघका छविलाल न्यौपाने, नागरिक विद्यार्थी समाजका आषिश चौधरी र स्वतन्त्र लोकेश देवकोटाको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्षमा नेविसंघका डिम्पल चौधरी र अखिल क्रान्तिकारीका सुदिप नेपाल मैदानमा छन् । १५ सय ८५ विद्यार्थीले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व छान्ने छन् । मनोनयन दर्ता गरेका उम्मेदवार बीच आज विहान १० बजेदेखि १ बजेसम्म दावी बिरोधको समय रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन चैत्र २७ गते हुने छ ।

क्याम्पसमा ८ जना सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कैलालीमा ३ क्याम्पस छन् । टीकापुर बहुमुखी सहित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया र कैलाली बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ता भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा भने तालाबन्दी गरिएका कारण निर्वाचनका कार्यक्रम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत १६ वटा आंगिक क्याम्पस छन् ।
यसअघि बीरेन्द्र बहुमुखी क्याम्पस मा भएको स्ववियू निर्बाचनमा कांग्रेसको पूरै प्यानल बिजयी भएको थियो । दुइ सय बढी मत को अन्तरले नेपाल बिद्यार्थी संघको प्यानल बिजय हुँदा अन्य संगठनका प्यानलको आधा मत पाएका थिए । पछिल्लो समय नेपाल बिद्यार्थी संघमा थारु समुदायका बिद्यार्थीको आकषर्ण बढ्दै गएको पाइन्छ ।
बीरेन्द्र बहुमुखी क्याम्पसमा अखिल र अखिल क्रान्तिकारी अलग अलग प्यानल बनाएर मैदान मा उत्रेको भएपनि नराम्रो पराजय भोग्नु परेको थियो । बीरेन्द्रमा अलग अलग लडेर हार बेहोरेका अखिल र अखिल क्रान्तिकारी लगायत अन्य संगठन यतिखेर एक भएर नेबिसंघलाई जित्न सकिन्छ भन्ने दाउमा भएको बुझाई छ । यसरी दुई प्यानल हुनेभएपछि निर्बाचनमा प्रतिस्प्रधा हुने भएको छ ।