सुवास नेम्वाङको निधनले समन्वयकारीको अभाव

सम्पादकीय
संबिधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले मुलुक स्तव्ध भएको छ । सुवास नेम्वाङ पार्टी बिशेषको नेता भएपनि समग्र मुलुकको चिन्तक थिए । मुलुक द्वन्द्वमा फसेको बेला सधै समन्वयकारी भूमिका निभाए । त्यति मात्र होइन पार्टीमा पनि सबैलाई मिलाएर लैजानुपर्छ भनेर बलियो गरी आफ्नो तर्क राख्ने गरेका थिए । यसले गर्दा मुलुकका हरेक नेताहरुले सुवास नेम्वाङले के बोल्छन् भनेर सुन्ने गरेका छन् । अधिकांस समय मुलुकका लागि निस्पक्ष भूमिका निभाएका सुवासले मुलुकको पछिल्लो समयप्रति दुःख प्रकट गर्दै आएका थिए । पार्टीमा भएको बिग्रह होस् या मुलुकमा परेको संकटका बारेमा प्रष्ट बिचार राख्ने गरेका थिए । यसरी बिचार राख्दा अर्काको अस्तित्व स्विकार गर्नुपर्छ भन्ने मान्यतालाई ध्यान दिएको पाइन्छ । आफ्नो पार्टी भित्र र अर्काे पार्टीमा समन्वयकारी भूमिका निभाउनमा खप्पिस नेता देशले गुमाएको छ । गणतन्त्र आएपछि बिकृति बढ्दै गएको छ । यस्तो अवस्थामा सुवास नेम्वाङको भूमिका अझै आवश्यक थियो । देशले एउटा कुशल राजनीतिज्ञ गुमाएको छ । नेताहरु योगदान अनुसारका हुन्छन् । पटक पटक अवसर पाएर पनि क्षमता प्रदर्शन गर्न नसकेकाहरु भिड छ तर त्यो भिडबाट अलग प्रस्तुति भएका सुवास नेम्वाङलाई देशले सम्झिरहने छ । कानूनी दख्खल र शालिन व्यक्ति मुलुकले गुमाउनुको पीडा आज सबैले महशुस गरेका छन् । हरेक दलका शिर्ष नेताहरुले मात्र होइन गाउँका दुरदराजका नागरिकले सुवास नेम्वाङले पु¥याएको योगदानका बारेमा सम्झन थालेका छन् । एउटा नेताले पाउने सम्मान पनि यही हो । मुलुकलाई निस्वार्थ योगदान दिनेको चर्चा हुन्छ । आज नेपाली समाजमा नेता मरेपछि ठिक भयो भन्ने अवस्था छ तर त्यहि सुवास नेम्वाङप्रति नागरिकले देखाएको चासो र सम्मानलाई नेताहरुले ग्रहण गर्दै अनुसरण गर्ने क्षमता विकास गर्न जरुरी छ । राम्रो काम गर्ने नेताहरुको महत्व देशले बुझेको हुन्छ भने नागरिकले दिने सम्मान दिन चुक्दैनन् । शालिन र असल व्यक्तित्वको पहिचान बनाउन सफल पात्र स्वर्गिय सुवास नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली ।