स्थानीय तहले आफ्नो काम गर्नुपर्छ

सम्पादकीय
स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्र पर्ने काम चुस्त दुरुस्त गर्न जरुरी छ । हरेक स्थानीय तहका आफ्ना आफ्ना आधारभूत आवश्यक्ता हुन्छन् । आफ्ना अधारभूत आवश्यक्ता पहिचान गरेर क्रमागत काम गर्नुपर्छ । देशको आर्थिक अवस्था खस्कदा स्थानीय तहले धेरै बजेट पाउने अवस्था छैन जति पाएको छ त्यति पूर्ण रुपमा सदुपयोग गर्नुपर्छ । बजेट सदुपयोग गर्ने सवालमा स्थानीय तह चुक्दै गएका छन् । स्थानीय पालिका प्रमुखले जे गरेपनि आफ्नो अधिकार हो भन्ने गरेका छन् तर जनताले तिरेको करका बारेमा नागरिकले खबरदारी गर्दा जनप्रतिनीधि पनि सच्चिनुपर्ने हुन्छ । कतिपय जनप्रतिनीधिले मनपरी विकास बजेट खर्च गर्दा जनताले तिरेको कर दुरुपयोग हुँदै गएको छ । पछिल्लो समय स्थानीय तहमा चरम वेथिति छ । अख्तियारले समेत स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको कुरा औल्याएको छ । चरम वेथितिले नागरिकमा निरासा छाएको छ । एकातिर आधारभूत कुरामा ध्यान नदिने अनी जनतालाई ठग्न ठूला योजना देखाउन थालिएको छ । जनताका सामान्य समस्या समाधान हुन सक्दैनन् तर ठूला सपना देखाएर भोटको राजनीति गरेको पाइन्छ । भोटको राजनीति दिर्घकालिन हुनका लागि ठोस योजना बनाएर विकास गरे मात्र सम्भव छ । टीकापुर नगरपालिकाले अहिले हवाई उडानका बारेमा काम गरि रहेको जस्तो देखिन्छ । यो भविष्यमा जनप्रतिनीधिका लागि घाँडो हुने हो । खुरुखुरु टीकापुरका आवश्यत्ता पहिचान गरेर काम गर्नुको साटो नियमित उडान गर्ने भनेर जसरी समय खर्च भइरहेको छ यसले भविष्यमा जनप्रतिनीधिले गाली खाने निश्चित हो । बजार क्षेत्रकै फोहर व्यबस्थापनका बारेमा ठोस योजना छैन । अस्पतालको छेउमा फोहर फालेर दुर्गन्धित बनाउने काम भएको छ । अस्पताल जस्तो संबेदनशिल क्षेत्रमा फोहर संकलन गरेर जलाउनु यो भन्दा दुख लाग्दो कुरा के हुन्छ ? यहाँका राजनीतिक दल पनि फोहर व्यबस्थापनका बारेमा मिलेर काम गरौं भनेको पाइदेन । जनप्रतिनीधिलाइृ राजनीतिक दलले दबाब दिनुपर्ने भएपनि राजनीतिक दलहरु पनि तै चुप मैचुप छन् । यसरी टीकापुरको विकास हुँदैन । जनता सचेत हुन जरुरी छ ।