स्वर्गिय हरि सुनार (ओड) लाई अन्तिम बिदाई

टीकापुर, २६ कार्तिक/ समाजसेवी तथा नेपाली काँग्रेसका सदस्य स्वर्गिय हरि सुनार (ओड) लाई शनिबार खिष्ट्रिय समाज र नेपाली काँग्रेसले अन्तिम बिदाई गरेकोछ ।
बिदाई कार्यक्रममा नेपाली काँग्रेसका नेता डाक्टर रणबहादुर रावल, टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह र समाजसेवी भुवनेश्वर अधिकारीले स्वर्गिय सुनारले समाजमा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । यसैगरी नेपाल खिष्ट्रिय समाज प्रदेश प्रमुख तथा केन्द्रिय उपाध्यक्ष हिरालाल भाट, पाष्टर मोहनप्रसाद शर्मा, रामराज खरेल, फिलिप सुबेदी, पाष्टर खड्क शाहू, शालिकराम शाहू र सुनारका जेठा दाजु जीतबहादुर सुनारले स्वर्गिय हरिबहादुरका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम सञ्चालन चेतराज जोशीले गर्नुभएको थियो ।


यसैगरी सोही समयमा नेपाली काँग्रेसका नेताहरुले नेपाली काँग्रेस को झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गर्दै बिदाई गर्नुभएको हो । उहाँको पार्थिव शरीरलाई टीकापुर ६ कटानपुरमा अन्त्यष्टी गरिएको हो । उहाँको शुक्रवार टीकापुरस्थित आफ्नै सुनचाँदी पसलमा उच्च रक्तचाप भई निधन भएको थियो । ६१ बर्षे सुनार मधुमेह रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
स्वर्गिय सुनारका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । ‘‘पार्टीको इमान्दार कार्यकर्ता टीकापुरले गुमाएको छ’’, नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष निर्मला कडायतले भन्नुभयो, ‘‘समाजले राम्रो मान्छे गुमाउँदा सबैलाई पीडा हुन्छ, सिंगो नेपाली काँग्रेस र टीकापुर शोकमा डुबेको छ ।’’
उहाँले स्वर्गिय हरिबादुर दाई जस्ता सामाजिक व्यक्तिबाट सिक्न जरुरी छ भन्नुभयो ।