स्वार्थका लागि बिद्रोहलाई मलजल

सम्पादकीय
नेपालका नेताहरुमा बिचलन सामान्य कुरा भएको छ । आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार छन् । आज एउटा कुरा भोली अर्काे कुरा गर्छन् तर पनि जनताले पत्याउछन् । जनतालाई ठग्ने काम मात्र भइरहेको छ । सत्ताका लागि बाबुराम र बामदेब गौतमले नयाँ पार्टी खोले तर मंसिरमा हुने निर्बाचनमा नेकपा माओवादीको चुनाव चिन्ह लिएर लड्ने भएका छन् । पार्टीबाट बिद्रोह गरेका दुबै नेताहरु जनताबाट टाढा भए अहिले ठूला पार्टीको ओत लाग्ने प्रयासमा छन् । एमाले बिभाजन गरेर एकीकृत समाजवादी बनाएका पूर्ब प्रधानमन्त्री माधव नेपालले सत्ता र शक्तिका लागि जे पनि गर्न तयार भएका छन् भने एमालेलाई कमजोर बनाउन जुन हदसम्म पनि पुग्न तयार छन् । त्यति मात्र होइन समाजवादीले उम्मेदवार चयन गर्ने केही आधार बनाएको छ । त्यो आधारमा मध्य पहिलो बिद्रोहमा सकृय भएर लागेकाहरुलाई प्राथमिकता दिने नीति बनाएको छ । त्यस बाहेक अनुशाषन र आर्थिक अनियमिततामा नफसेको व्यक्तिलाई प्राथमिकता दिने भनिएको छ । आदर्श कुरा गर्ने तर दैनिक व्यबहार धेरै फरक देखिने गरेको छ । नेताहरुले जे गरेपनि हुन्छ भन्ने मानसिकता पाल्दा पार्टी पार्टीमा अन्तरकलह मच्चिएको छ । देश र जनताको बारेमा सोच्ने फुर्सद छैन । केवल आफु कसरी बलियो हुने भन्ने सोच पालेका नेताहरुले देश बनाउने कुरै   भएन । सत्तामा गएर आफु र आफन्तलाई पोस्न व्यस्त भएका नेताहरुको व्यबहारले गणतन्त्र प्रति नै बिश्वास गुम्न थालेको छ । यतिखेर गणतन्त्र देश र जनताका लागि भन्दा नेताहरुका लागि आएको रहेछ भन्नुपर्ने अवस्था छ । मसिंरमा हुने निर्बाचनमा नागरिक सचेत हुन जरुरी छ । जनतालाई ठग्न पल्केका नेताहरुलाई निर्बाचनमा पाखा लगाउन जरुरी छ । जनता सचेत नहुने हो भने देशको अस्तित्व समेत समाप्त हुन्छ । सबैले बिचार गर्नुपर्छ ।