सम्पादकीय
नेपालको राजनीतिमा व्यतिथीले सीमा नाघेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याएर मन्त्री बनाएको आम नागरिकले पचाएका छैनन् तर उनलाई मन्त्री बनाउने मात्र होइन धाप हान्नेहरु पनि छन् । यो भन्दा लाजमर्दाे कुरा के होला ? यस्तो अचाक्ली त पञ्चायतकालमा पनि थिएन । त्यतिबेला दरबारको डर मान्थे । अहिले त डर पनि छैन लाज घिन केही मान्दैनन् । यो खालको राजनीतिले नागरिक स्तरमा आक्रोस बढ्न थालेको छ । स्वतन्त्रले जित्न थालेका छन् भनेर चिन्ता गर्ने दलका नेताहरु आफ्नो आनिबानी सुधार्न तयार छैनन् । गणतन्त्र आएपछि राजनीतिक दलमा स्वार्थ समूह जन्मन थालेका छन् । दिनप्रतिदिन स्वार्थ समूह जन्मन थालेपछि दल सञ्चालमा समेत समस्या परेको छ । कसको स्वार्थ कहाू मिल्छ भन्ने थाहा हुँदैन । स्वार्थ मिल्यो कि उसको बयान गर्ने अनी अर्काेलाई धारे हात लगाउने गर्छन् । हिजो के बोले आज के बोल्दै छु भन्ने हेक्का राखेको पाईदैन । जे बोलेपनि हुन्छ भन्ने सोच पलाएको छ । यस्तो छुद्रताको राजनीतिले देश र जनताको हित गर्ने कुरै भएन । बजेट निर्माणको ताण्डव छताछुल्ल भएको छ तर राजनीतिक दलका नेताहरु ढाकछोपमा व्यस्त छन् । तीन बर्ष सत्तामा बसेको पार्टी यतिखेर प्रतिपक्षमा छ तर हिजो भएका आफ्ना कमजोरीका बारेमा केही बोल्दैनन् बरु सत्ता पक्षलाई सत्तोसरापमा लागेका छन् । जनताको करबाट सुबिधा खाने नेताहरुले संसदमा आफ्नो वाकयुद्ध प्रस्तुत गरेका छन् तर जे पास नहुनुपर्ने त्यो पास गर्छन् , जे पास गर्नुपर्ने हो त्यो पास गर्देनन् । राजनीतिक दलका नेताहरुले आफ्ना कमिकमजोरी सच्याउन जरुरी छ । जनता निरास छन् आर्थिक संकट छ तर नेताहरु गम्भिर छैनन् । तसर्थ नेताहरु देश र जनताका लागि व्यक्तिगत स्वार्थ भन्दा टाढा रहेर विकास निर्माणमा लाग्न जरुरी छ । नागरिक स्तरबाट चेतनाका कार्यक्रम आउन जरुरी छ । जनता सचेत नहुने हो भने देश संकटमा पर्ने निश्चित हो ।