टीकापुर, २६ असोज/गत बर्ष कैलालीको टीकापुर ६, ७ र ९ का सयौं किसानको काटेर राखेको धान बाढीले बगाएपछि मुखैमा आएको आम्दानी गुम्यो । उनीहरुलाई बर्ष दिन कसरी जीवन निर्बाह गर्ने चिन्ताले सतायो । राज्यले किसानलाई मलहम पट्टी लगाउन भनेर क्षतिपूर्ती दियो तर त्यो क्षतीपूर्तीले किसानको पीडालाई मलहम लगाउनु भन्दा काटिएको घाउँमा नून चुक छर्किय जस्तो भयो ।
सरकारले बाली नष्ट भएका किसानलाई क्षतीपूर्ती वापत ७५ देखि ३ सय १५ रुपैयासम्म प्रति कठ्ठाका दरले रकम उपलव्ध गराएको थियो । यसरी सरकारले उपलव्ध गराएको राहत रकम कतिपय किसानले लिन सकेनन् । राहत रकम बैङ्क मार्फत उपलव्ध गराउने भनेपछि किसान लाई खाता खोल्नै समस्या भयो भने खाता खोल्न ५ सय रुपैयाँ खर्च भयो । बैङ्कसम्म आउन जान थप खर्च भएको छ किसान को । यसरी सरकारले राहत उपलव्ध गराएपनि किसानले राहत पाएको महशुस गर्न पाएनन् । यसरी अघिल्लो बर्षको पीडाबाट उम्कन नपाउँदै त्यस क्षेत्रका किसान पुनः पीडामा परेका छन् । अघिल्लो बर्ष वार्ड नम्बर ६ का ८ सय ४८ किसान ले राहतका लागि निबेदन दिएको वडाध्यक्ष बलिराम चौधरीले जानकारी गराउनुभयो । ‘‘अघिल्लो पटक ७५ रुपैया देखि ३सय १५रुपैयासम्म क्षतीपूर्ती पाउनुभएको थियो,’’ वडाध्यक्ष चौधरीले भन्नुभयो ,‘‘यस बर्ष पनि किसानको धान क्षती भएको छ । पुरै डुवान भएको छ ।’’
अघिल्लो बर्ष ४ बिगाहामा लगाएको धान काटेपछि बाढिले बगायो यस बर्ष पनि पुरै धान डुबायो टीकापुर ८ का शेरबहादुर साउूदले बताउनुभयो । ‘‘ धान काट्ने बेला नदी पसेपछि के अवस्था भयो होला रु’’ साउँदले भन्नुभयो । त्यस क्षेत्रमा हजारौं बिगाहाको धानबालीमा नदी पसेको थियो । वार्ड नम्बर ८ को बञ्जरिया टोल, वडा कार्यालय पछाडीको बस्ति, फाँटा र पुदाल टोल पूर्ण रुपमा डुबानमा परेका छन् ।
पुदाल टोलका बासिन्दा त्यहा रहेको बिद्यालयमा बसेका थिए । मंगलबार पानी कम भएपछि उनीहरु आफ्नो घरमा फर्केका छन् ।
‘‘अघिल्लो बर्षको पीडा यस बर्ष खेप्नु नपर्ला भन्ने सोचेका थियौं तर उल्टो भयो ’’ स्थानीय शेरबहादुर ठकुल्लाले भन्नुभयो,‘‘ केही बर्ष बाढी लाग्न छाडेको थियो , दुई बर्ष देखि फेरी बाढी लाग्न थालेको छ ।’’ कर्णाली नदीको तटबन्ध कमजोर भएको र कतिपय ठाउँमा तटबन्धको काम बाूकी भएकाले बाढीको पीडा भोग्नु परेको ठकुल्लाले भन्नुभयो ।