हवनका लागि आवश्यक पूजाका सामग्री बनाउने तालिम सम्पन्न

टीकापुर,१० बैशाख/हवनका लागि आवश्यक पूजाका सामग्री बनाउने तालिम सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं। २ को आयोजना तथा जालवादेवी समिति टीकापुरको सहजीकरणमा एक महिने तालिम भएको हो । तालिममा महिला तथा पुरुष सहभागी थिए ।
वडाध्यक्ष दीपक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख रामलाल डगौरा थारुले प्राकृतिक सम्पदा र प्राकृतिक साधन स्रोतलाई प्रयोग गर्न सकेमा नेपाल धनी बन्ने बताउनुभयो ।
कार्यक्रममा जालवादेवी समिति टीकापुरका अध्यक्ष हर्कबहादुर रावलले तालिमपछि हवन सामग्री निर्माण गरी बजारमा सामान ल्याउन सकेमा यो तालिम प्रभावकारी हुने बताउनुभयो । वडा नं। ७ का वडाध्यक्ष तथा आर्थिक विकास समिति संयोजक यज्ञप्रसाद न्यौपानेले स्थानीय स्तरमा भएका प्राकृतिक स्रोत साधन उपयेग गरी स्वरोजगारका वातावरण बनाउन सके तालिम उपयोगी हुने बताउनुभयो ।


तालिमका प्रशिक्षक नारायण प्रसाद तिमिल्सिनाले शास्त्रीय हिसावले आवश्यक बस्तु र मात्रा सहितको परिपूर्ण हवन सामग्री उत्पादन सम्बन्धी सीप सिकाउनु का साथै आवश्यक सामग्रीको खोज अनुसन्धान समेत भएको बताउनुभयो ।
वडाध्यक्ष दीपक चौधरीले नागरिकलाई स्वरोजगार बनाउन का निम्ति यस्ता खाले सीपमूलक कार्यक्रम गरिएका बताउनुभयो । उहाँले विगतमा दिइएका सहयोग र तालिम सदुपयोग नभएकाले कार्यक्रम र तालिमको स्वरुप बदलेका बताउनुभयो ।
कार्यक्रममा समाजसेवी मुक्तिनाथ रेग्मी, धनराज उपाध्याय, द्धारिका जोशी, लोक बहादुर बुढा लगायतले बोल्नु भएको थियो ।
वडा सदस्य खम्ब ठकुल्लाले स्वागत गर्नुभएको कार्यक्रम जालवादेवी समिति धुब्र रावलले सञ्चालन गर्नुभएको थियो ।