११ किलोमिटर लामो कुला सफा गर्दै किसान

टीकापुर, ११ मङ्सिर/कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ का किसान ११ किलोमिटर लामो कुला सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्र्तगतको ११ किलोमिटर नहर शुक्रवारबाट सफाई गर्न थालेका हुन् ।
उनीहरुले दैनिक डेढ किलोमिटर भन्दा बढी सफाई गर्ने गरेका छन् । ४ सय ८५ हेक्टर क्षेत्रफल मा सिचाई पु¥याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैले नहर सफा गर्न थालेको भूर्षा कुला सिचाई समितिका अध्यक्ष गोपाल गिरीले बताउनुभयो ।
‘‘११ किलोमिटर लामो कुला तीन दिनदेखि सफा गर्दैछौँ’’, अध्यक्ष गिरीले भन्नुभयो, ‘‘हजारौँ किसान सहभागी छौँ ।’’


उहाँले भूर्षा सिँचाइ कार्यक्रम लाई कुनै पनि सरकारले सहयोग नगरेको बताउनु भयो । ‘‘विधिवत रुपमा २०५८ सालदेखि सञ्चालन मा आएको भूर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एउटा पनि बजेट आएको छैन’’, गिरीले भन्नुभयो, ‘‘किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनीधि गम्भिर छैनन् ।’’
कुलाअन्तर्गत १२ वटा गाउँ छन् । गाउँको भागअनुसार उनीहरुले कुलो सफा गर्ने गरेका छन् । कुला सफाई कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् ।
बडघरले गाउँ अनुसारको कुला को क्षेत्रफल छुट्याइदिने गर्छन् । कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता रहेको छ ।
‘‘महिला पुरुष भन्ने कुरा भएन सबै मिलेर कुला सफाई गर्दैछौँ’’, फूलबसिया चौधरीले भन्नुभयो, ‘‘सरकारले वास्ता नगरेपछि किसान आफैँ नहर सफा गर्न लागेका छौँ ।’’ कुलाप्रति तीनै सरकारले वेवास्ता गरेको भन्दै उनीहरु आक्रोशित छन् । ‘‘किसानका बारेमा सुन्ने कोही भएनन्’’, खैरे विश्वकर्माले भन्नुभयो, ‘‘११ किलोमिटर कुलाले गर्ने सिँचाइ र किसानका बारेमा सोच्ने कोही भएनन् ।’’
बडघर किसान सबै मिलेर सिँचाइका लागि तीन दिनदेखि कुला सफा गर्न थालेका भागीराम चौधरी बताउनुभयो । ‘‘कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर कुला सफा गरेका
छौँ’’, चौधरीले भन्नुभयो ‘‘कुला सफा गरेपछि नागरिक पनि खुशी छन् । हामी अगुवा पनि खुशी भएका छौँ ।’’