२३ महिना कै न्यून बिन्दूमा शेयर बजार

सम्पादकीय
नेपालको शेयर बजार २३ महिना यता कै न्यून बिन्दुमा पुगेको छ । मंगलबार ३८.८१ प्वाइन्ट घटेर १८३७. ६० अंकमा बजार बन्द भएको छ । बजार मात्र ओरालो लागेको होइन कारोबार पनि क्रमशः घट्दै गएको छ । बजार प्रति आम नागरिकको बिश्वास बढ्न नसकेपछि शेयर बजार ओरालो लाग्ने क्रम बढेको छ । बर्तमान सरकार आएपछि शेयर बजार केही बढ्ने आशा गरेपनि अर्थमन्त्रीको व्यबहारले बजार माथि उक्लेन । कर दरभाउ देखि अन्य गतिबिधीमा अर्थ मन्त्रालयको भूमिका ठीक नभएकै कारण बजारले बिश्वास जित्न सकेन् । शेयर बजारले आम नागरिकको सानो पुँजीलाई व्यबस्थित गर्छ भन्ने मान्यता हुन्छ । सेयर बजारलाई व्यवस्थित गरेपछि छरिहेको पुँजी एक ठाउँमा आउँछ । छरिएको पुँजीलाई विकास निर्माणमा लगाउन जरुरी छ । नागरिकको सानो बचत संरक्षण गर्ने कर्तव्य सरकारको हो । सरकारले नागरिक का बारेमा केही चासो राखेको पाईदैन । नागरिकका बारेमा चासो नराख्दा नागरिक बजारमा ठगिन पुगेका छन् । बर्तमान सरकारले आर्थिक बर्ष २०७९÷८० को बार्षिक बजेट ल्याएपछि दिनप्रतिदिन सेयर बजार घट्दै गएको छ । २६ सय माथि पुगेको सेयर बजार घट्दो क्रममा रहँदा शेयर बजारमा अर्बाै रुपैयाँ नोक्सान भएको छ । आम लगानीकर्ताले आफ्नो लगानी गुमाएका छन् । यतिखेर कतिपय शेयरधनी निरास छन् भने कतिपयले किन्ने समय यहि हो भन्न थालेका छन् । सबै क्षेत्रको सेयर मुल्य घटेको अवस्था छ । जनता आक्रांन्त छन् तर सत्तामा बसेका नेताहरुलाई केही वास्ता छैन । भ्रष्टाचार र व्यतिथी चरम सीमामा पुगेको छ । तसर्थ नागरिक सचेत हुन जरुरी छ । जनताका बारेमा सरकार पनि गम्भिर हुन जरुरी छ । जनता डुव्ने अनी सत्तामा बसेकाहरु चुपचाप बस्ने राजनीतिले गणतन्त्रको संरक्षण गर्न सक्दैन । जनताको सानो पुँजी संरक्षण गर्न तर्फ सरकारको ध्यान जान जरुरी छ । सेयर बजार देशको आर्थिक अवस्थाको सुचांक पनि मानिन्छ । यसले आर्थिक मापन पनि गर्ने गर्छ । यस्ता बिषयमा राज्यको चासो हुन जरुरी छ ।