सम्पादकीय
टीकापुर नगरपालिकासंग दुई दुई वटा गाडी छन् । यस पटक नगरपालिकाले करिब ६० लाख रुपैयाँ खर्च गरेर अर्काे गाडी खरिद गर्दै छ भन्ने कुरा आएको छ । यदि गाडी किन्ने निर्णय भएको छ भने अहिलेका जनप्रतिनीधिको सरासर गलत हो । सुबिधाभोगी जनप्रतिनीधिलाई टीकापुरका जनताले पाल्नुपर्छ भन्ने केही छैन । जनताबाट निर्बाचित जनप्रतिनीधिले यस्ता गैरजिम्मेवार काम गर्ने हुन् भने नागरिकले दबाब दिन जरुरी छ । गाडी खरिद भयो भने जनप्रतिनीधिलाई नगरपालिकामा छिर्न दिनु हुँदैन । अधिकार पाए भन्दैमा जे पनि निर्णय गर्न मिल्दैन । जनताले तिरेको कर सुबिधा र मोज मस्ति अनी भत्तामा उडाउने हो भने यस्ता जनप्रतिनीधिबाट टीकापुरबासीले केही आशा गर्ने ठाउँ हुँदैन । यो बिषयमा नागरिक समाज ,राजनीतिक दल तथा स्थानीय जनता गभिंर हुन जरुरी छ । नगरपालिकामा जनताको काम केही नहुने अनी बिबाद सृजना गर्ने र सुबिधा मात्र खान किन दिने ? नागरिकलाई लूटेर जनप्रतिनीधिले मोज गर्नु अपराध हो । करिब ७ महिना बित्न थाल्यो अहिलेका जनप्रतिनीधि आएको तर काम केही भएको पाइदैन । केवल गफ र आश्वासनले मात्र टीकापुरको विकास हुँदैन र जनताको चाहना पनि पुरा हुँदैन । अहिलेका जनप्रतिनीधि केवल अवसरका लागि झगडा गर्नमा व्यस्त छन् । आफ्ना नजिकका मान्छेलाई कसरी सुबिधा दिने भन्नेमा लागेका छन् । कार्यालय व्यबस्थापन मै ठूलो समस्या छ । कर्मचारी एकातिर जनप्रतिनीधि अर्काे तिर भएको अवस्था छ भने जनप्रतिनीधिको झगडामा कर्मचारी लाभ लिन सकिन्छ भन्नेमा छन् । यसरी टीकापुर नगरपालिका अस्तव्यस्त हुन थालेको छ । मेयर र उपमेयरले नगरबासीको भावना बुझेर यथासिघ्र आफ्नो शैली सुधार्न जरुरी छ । विकासका सवालमा सबैको सहयोग लिएर काम गर्नुपर्छ । अधिकार प्राप्त जनप्रतिनीधिहरुले नगरबासीको भावना बिपरित हिँड्दा जनता सडकमा उत्रने वातावरण बनाउनु हुँदैन ।