अस्पतालको अघि भएको शौचालय सफा गर

सम्पादकीय
टीकापुर अस्पताल अघि भएको शौचालय फोहर हुँदा फलफूल व्यबसायी र पैदल यात्रुले दुख पाउने गरेका छन् । यतिखेर शौचालय बन्द गरिएको छ । अस्पताल र मुख्य बजारको मुखमै भएको शौचालय बन्द हुनु राम्रो होइन । यसरी बन्द भएको शौचालय फोहर हुँदा फलफुल व्यबसायी मर्कामा परेका छन् । टीकापुर नगरपालिकाले अस्पतालको गेटमा फलफूल बिक्री गर्दै आएका व्यबसायीलाई हटाएर शौचालयको छेउमा बस्न भने पनि त्यहाँ बस्ने वातावरण नभएको बारेमा वास्ता गरेको छैन । सडकमा व्यबसाय गरिरहेका व्यबसायीलाई व्यबस्थित गरेर एक ठाउँमा राख्नु राम्रो भए पनि शौचालयको छेउमा राख्दा शौचालयको अवस्था कस्तो छ भनेर बुझ्न जरुरी छ । फोहर शौचालयको छेउमा फलफूल व्यबसायी लाई बसाउनु भन्दा अस्पतालको गेटमै ठीक थियो । गेटबाट हटाउनु छ भने शौचालय व्यबस्थित गर्न जरुरी छ । त्यस क्षेत्रमा एउटा व्यबस्थित शौचालय आवश्यक छ भने अस्पतालको छेउमा फलफूल व्यवसाय पनि आवश्यक छ । अस्पतालमा आउने बिरामीले गेटमै फलफूल पाउने गरेका छन् । अस्पतालमा आउने र बजारमा आउने हरेकलाई पायक पर्ने शौचालय नगरपालिकाले सञ्चालन गर्न ध्यान दिएको छैन । ठूलै पर्खाल लगाइएको छ तर त्यो पर्खाल के का लागि भन्नुपर्ने अवस्था छ । नगरपालिकाले शौचालय व्यबस्थित रुपमा सञ्चालन गर्न जरुरी छ । शौचालय सफा नगर्ने हो भने त्यहाँ राखिएका फलफूल व्यबसायीलाई गेटमा बस्न दिनुपर्छ । खाली नियम कानून देखाउने आफुले गर्नुपर्ने कर्तव्य निर्बाह नगर्ने संस्कार बढ्दै गएको    छ । सरकारको दायित्व नागरिकलाई कानून बनाइदिने मात्र होइन नागरिकको वास्तविक समस्याका बारेमा सम्बोधन गर्नु पनि हो । हरेक सरकारका जन प्रतिनीधिहरु आफ्नो जिम्मेवारी बाट पन्छन्छन् तर स्टन्ट भने गर्छन् । यो रोगले आम नागरिकको समस्या हल हुँदैन । तसर्थ टीकापुर नगरपालिकाले शौचालयका बारेमा यथासिघ्र काम गर्न जरुरी छ ।