करिब ४५ हजारले महोत्सव अवलोकन गरे,२२ लाख रुपैयां टिकटबाट आम्दानी

टीकापुर, ११ माघ/माघ ४ गतेबाट शुरु भएको टीकापुर महोत्सवमा ९ गतेसम्ममा करिव ४५ हजारले अवलोकन गरेका छन् ।
उद्घाटनको दिन निशुल्क प्रबेशको तथ्याकंलाई छाडेर ४५ हजारले महोत्सव अवलोकन गरेको पाइन्छ । महोत्सव प्रवेशका लागि टिकटबाट करिब २२ लाख रुपैया आम्दानी भएको छ । ५ गते टिकट बिक्रीबाट एक लाख ५१ हजार, ६ गते एक लाख ६९ हजार, ७ गते आठ लाख ६८ हजार, ९ गते सात लाख ४२ हजार र दुई लाख ५२ हजार आम्दानी भएको नेपाल रेडक्रस सोसाइटी टीकापुरका सभापती दत्तबहादुर बिष्टले जानकारी गराउनुभयो ।


यस बाहेक आयोजक टीकापुर उद्योग वाणिज्य संघले तीन सयका दरले करिव एक हजार एक सय सिजनल टिकट बिक्री गरेको वाणिज्य संघका उपाध्यक्ष तथा आर्थिक समितिका संयोजक कृष्ण बजगाइले बताउनुभयो । बजगाइले महोत्सवमा रहेका स्टलमा कारोबार र अवलोकन कर्ता को उपस्थिति समेत सन्तोषजनक रहेको बताउनुभयो ।


टिकट बिक्रीको जिम्मा संघले रेडक्रसलाई दिएको छ भने पार्किङको जिम्मा सामुदायिक प्रहरी सेवा केन्द्रलाई दिएको छ । संघले टीकापुर नगरपालिकाका कर्मचारी र सञ्चारकर्मी तथा स्टल सञ्चालकलाई पास वितरण गरेको छ । जेष्ठ नागरिक लाई निशुल्क प्रवेशको व्यबस्था मिलाएको छ । महोत्सवमा कृषि प्रदर्शनी र शैक्षिक प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । अघिल्ला वर्षभन्दा यस वर्ष महोत्सवमा होटल व्यबसायीले राम्रो आम्दानी गरेका छन् । थारु गाउँमा चहलपहल
राम्रो देख्न पाइन्छ । माघ १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलमा नयाँ कुरा भने केही देख्न पाइदैन । महोत्सवमा टीकापुरस्थित आँखा उपचार केन्द्रले निशुल्क परीक्षण र औषधिको सेवा दिइरहेको छ ।


महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिइरहनु भएको छ । महोत्सवमा बाल कलाकार सुप्रिम मल्ल, गायक राजनी खाँण ,भीम बिष्ट अछामी रेखा, लालबहादुर धामी अछामी बड्डो, हाँस्य कलाकार हेमराज अधिकारी खन्ट्या खलास, गायिका शान्ति श्री परियार, लक्ष्मी आचार्य, माधवी घर्तीमगर, रमेशराज भट्टराई, अन्जु कुश्मी, झरना बोहरा लगायतले मनोरञ्जन दिइसक्नु भएको छ ।
महोत्सवमा अझैँ हाँस्य कलाकार सन्दिप क्षेत्री, मनिष खड्का, गायिका शोभा त्रिपाठी, मेलिना राइ, चक्र बम, एलिना चौहान, सोनु कुश्मी, टंक तिमिल्सिना, रचना रिमाल, अनिता चलाउने, मञ्जु पौडेल लगायतका कलाकार आउने आयोजकले जानकारी दिएका छन् ।